ईटानगर: अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले प्रख्यात समकालीन कलाकार तथा समाज सुधारक रुबल नागीलाई बधाई दिँदै उनको प्रसंशामा एक विशेष सन्देश जारी गरेका छन्।
मुख्यमन्त्री खाण्डुले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा रङ लगाउने ब्रसले पनि मानिसको जीवन र समाज बदल्न सक्छ भन्ने गहिरो विश्वासका साथ नागीले पुर्याएको योगदानको उच्च कदर गरेका हुन्।
मुख्यमन्त्री खाण्डुले फेसबुकमा लेखेअनुसार, रुबल नागीले कलालाई केवल ठूला ग्यालरीहरूमा मात्र सीमित नराखी यसलाई शिक्षा, आत्मसम्मान र सामाजिक रूपान्तरणको बलियो माध्यम बनाएकी छन्। उनले रुबल नागी आर्ट फाउन्डेसनमार्फत भारतभरका विपन्न बालबालिका, महिला र पिछडिएका समुदायहरूलाई सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्। नागीकै नेतृत्व र अथक प्रयासमा हालसम्म १ लाख ५० हजारभन्दा बढी घरहरूलाई रङरोगन गरी नयाँ रूप दिइएको र विपन्न बालबालिकाहरूका लागि ८०० भन्दा बढी सिकाई केन्द्रहरू (लर्निङ सेन्टर्स) स्थापना भइसकेका छन्।
कला र सिर्जनात्मकता कसरी राष्ट्र निर्माणको एउटा शक्तिशाली माध्यम बन्न सक्छ भन्ने कुरा रुबल नागीको यो यात्राले प्रमाणित गरेको मुख्यमन्त्रीले प्रष्ट पारेका छन्। एउटा प्रतिष्ठित कलाकारबाट सुरु भएको नागीको यो असाधारण सामाजिक सुधारको यात्राले विश्वव्यापी मान्यता पाएको भन्दै मुख्यमन्त्री खाण्डुले गौरव व्यक्त गरेका छन्। सोही निःस्वार्थ सेवा भाव र विशिष्ट कार्यका कारण नागीले प्रतिष्ठित ‘ग्लोबल टिचर प्राइज २०२६’ प्राप्त गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्रीले उनको योगदान आगामी पुस्ताका लागिसमेत सदैव प्रेरणाको स्रोत बनिरहने विश्वास व्यक्त गरेका छन्।










