नेतृत्व र राष्ट्र निर्माणमा बहस, तुहिन ए. सिन्हाको नयाँ पुस्तककाे विमोचन
कोलकाता: प्राइमार्क ग्रुपले समाजका प्रतिष्ठित नेता, लेखक, नीति निर्माता र उद्योग क्षेत्रका विज्ञहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यका साथ आफ्नो नयाँ वैचारिक मञ्च ‘द प्राइमार्क पोडियम’ को सुरुवात गरेको छ।
‘सँगै मिलेर नै प्रगति सम्भव छ’ भन्ने मूल मन्त्रका साथ सुरु गरिएको यस मञ्चको पहिलो शृङ्खला कोलकाताको प्राइमार्क स्क्वायरस्थित निशतारा बैंक्वेटमा सम्पन्न भएको छ। पहिलो कार्यक्रमको मुख्य विषय ‘नेतृत्व, दृढता र राष्ट्र निर्माणका पाठहरू’ राखिएको थियो। सोही अवसरमा लेखक तथा भाजपाका राष्ट्रिय प्रवक्ता तुहिन ए. सिन्हाको नयाँ पुस्तक ‘नक्सल टेरर भ्याङ्क्विस्ड’ को कोलकाता संस्करण पनि विमोचन गरिएको छ।
पुस्तक विमोचनपछि राष्ट्रिय सुरक्षा, वामपन्थी उग्रवाद विरुद्धको लडाइँ, सुशासन र देशको सामूहिक सङ्कल्पका विषयमा एक विशेष प्यानल छलफल आयोजना गरिएको थियो। उक्त छलफलमा आफ्ना धारणा राख्दै लेखक तथा प्रवक्ता तुहिन ए. सिन्हाले हालसम्म १४ वटा पुस्तक लेखिसकेको र आफ्नो यस नयाँ पुस्तकमा नक्सलवाद विरुद्ध भारतको अभियान, बलियो राजनीतिक इच्छाशक्ति र सुरक्षा संयन्त्रको रणनीतिबारे चर्चा गरिएको बताए। छलफलमा पूर्व आईएएस अधिकारी चन्दन सिन्हाले आफ्नो प्रशासनिक अनुभव र चर्चित पुस्तक ‘कन्ट्रोलिङ अफ एन इन्सरेक्सन’ का आधारमा जङ्गलमहल क्षेत्रमा माओवादी उग्रवाद फस्टाउनुका सामाजिक-आर्थिक कारण र प्रशासनिक कदमबारे विश्लेषण गरे। त्यस्तै, ‘द प्रिन्ट’ का कन्ट्रीब्युटिङ एडिटर तथा पुरस्कृत पत्रकार दीप हलदरले समसामयिक सामाजिक-राजनीतिक मुद्दा र समाजमा त्यसको प्रभावबारे आफ्नो दृष्टिकोण राखे।
कार्यक्रममा पश्चिम बङ्गाल सरकारकी सहरी विकास तथा नगरपालिका मामिला मन्त्री श्रीमती अग्निमित्रा पल र उद्योग, वाणिज्य तथा उद्यम विभागका प्रभारी मन्त्री श्री तापस रोय मुख्य अतिथिका रूपमा उपस्थित थिए।
मन्त्री पलले आफ्नो लामो राजनीतिक अनुभवका आधारमा सुशासन र राष्ट्र निर्माणमा जोड दिइन् भने मन्त्री रोयले सरकारी नीति, दिगो विकास र आर्थिक प्रगतिका विषयमा धारणा राखे।
यस खाश अवसरमा प्राइमार्क ग्रुपका निर्देशक तथा क्रेडाई बङ्गालका पूर्व अध्यक्ष श्री सिद्धार्थ पंसारीले वास्तविक प्रगति केवल भवन वा पूर्वाधार निर्माणले मात्र नभई नयाँ विचारहरूबाट तय हुने बताए। उनले ‘द प्राइमार्क पोडियम’ मार्फत कम्पनीको प्रयास नेतृत्वलाई प्रेरणा दिने र समाजलाई नयाँ दृष्टिकोण प्रदान गर्ने एउटा सार्थक मञ्च खडा गर्नु रहेको उल्लेख गरे। ‘द प्राइमार्क पोडियम’ एक निरन्तर चलिरहने शृङ्खला भएकाले यस मञ्चमार्फत आगामी दिनहरूमा पनि लोकनीति, व्यापार, संस्कृति र समाजका विविध पक्षमा निरन्तर संवाद चलाइने कम्पनीले जनाएको छ।










