भारतीय सवारीसाधनलाई सहज प्रवेश
वीरगन्ज: लामो समयदेखि सीमावर्ती क्षेत्रका बासिन्दाले गर्दै आएको आन्दोलन र दबाबपछि नेपाल–भारत सीमामा अवस्थित पर्साको भिस्वा नाकामा डिजिटल भन्सार कार्यालय सञ्चालनमा आएको छ। भन्सार प्रक्रिया विना भारतीय सवारीसाधन र मालसामानको आवतजावतमा रोक लगाइएपछि स्थानीय बासिन्दा आन्दोलित भएका थिए। पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यको विशेष पहल तथा संसद्मा उठाइएको आवाजपछि नेपाल सरकारले उक्त नाकामा डिजिटल भन्सार सेवा सुरु गरेको हो। यो व्यवस्था लागू भएसँगै सीमावर्ती तराई क्षेत्रका नेपाली तथा भारतीय नागरिकहरूमा खुसीयाली छाएको छ।
नयाँ व्यवस्थाअनुसार अब भारतीय चारपाङ्ग्रे सवारीसाधनको इन्ट्री र भन्सार प्रक्रिया भिस्वा नाकामा नै अनलाइनमार्फत पूरा गरिनेछ। यसअघि भन्सार प्रक्रियाका लागि सवारीसाधन लिएर वीरगन्ज भन्सार कार्यालय नै पुग्नुपर्ने बाध्यता थियो, जसका कारण सीमावर्ती क्षेत्रका बासिन्दाको समय र पैसा दुवै अतिरिक्त खर्च हुने गर्दथ्यो। अब भने भारतीय सवारीसाधनहरू केवल प्रवेश दर्ता (इन्ट्री) गराएर सीमा क्षेत्रबाट करिब ९ किलोमिटर भित्रसम्म विना कुनै अतिरिक्त शुल्क आवतजावत गर्न सक्नेछन्।
विगतमा भिस्वा नाका भएर भारतको सिक्टा बजारबाट घरायसी प्रयोजनका लागि सीमित मात्रामा खाद्यान्न ल्याउन समेत नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) ले अवरोध गर्ने गरेको स्थानीयको गुनासो थियो। विशेष गरी विवाह तथा पारिवारिक उत्सवका क्रममा आउने भारतीय सवारीसाधनलाई सीमामै रोकिँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू ओर्लिएर ई-रिक्सा वा अन्य स्थानीय साधनको प्रयोग गरी गन्तव्यतर्फ जान बाध्य थिए। विद्यालय बस र एम्बुलेन्सलाई पहिलेदेखि नै छुट दिइएको भए पनि आम नागरिकका सवारीसाधनले भोग्दै आएको सास्ती यो निर्णयसँगै हटेको छ। स्थानीय आन्दोलनका अगुवाहरूले यस जनमुखी कार्यका लागि सांसद शाक्य र नेपाल सरकारप्रति आभार प्रकट गरेका छन्।









