काउन्सिलर चिन्तूरीको नेतृत्वमा राजमार्ग क्षेत्र सफा
आलो: स्थानीय पिपल दारा वार्डमा बिहीबार एक वृहत् स्वच्छता तथा सरसफाइ अभियान सम्पन्न भएको छ। वार्ड काउन्सिलर रजनी सिंह चिन्तूरीको विशेष नेतृत्व तथा सक्रियतामा सञ्चालित उक्त अभियान अन्तर्गत राष्ट्रिय राजमार्ग १० को पेट्रोल पम्पदेखि लोक निर्माण विभाग (पीडब्लूडी) कार्यालय मुनिसम्मको सडक खण्डलाई पूर्ण रूपमा सफा सुग्घर बनाइएको हो। पछिल्लो समय सडक किनारमा फोहोर बढेको जनगुनासो आएपछि स्थानीय जनप्रतिनिधि र नागरिक समाजको अग्रसरतामा यो कदम चालिएको हो।
सडक सौन्दर्यीकरण तथा पर्यावरण संरक्षणलाई मुख्य प्राथमिकता दिइएको यस अभियानमा पिपल दारा क्षेत्रका बासिन्दाहरूको उल्लेखनीय र स्वतःस्फूर्त सहभागिता रहेको थियो। स्थानीय युवा, महिला तथा बुद्धिजीवीहरूले सडक किनारका झाडी फँडानी गर्नुका साथै प्लास्टिकजन्य र अन्य फोहोरमैला सङ्कलन गरेर उचित व्यवस्थापन गरेका थिए। अभियानको नेतृत्व गर्दै काउन्सिलर चिन्तूरीले सार्वजनिक स्थल र राजमार्गलाई स्वच्छ राख्नु नागरिकको पनि साझा दायित्व भएको उल्लेख गर्नुहुँदै स्थानीय बासिन्दाले देखाएको सामूहिक भावनाको प्रशंसा गर्नुभयो। आगामी दिनमा पनि यस्ता समुदायकेन्द्रित पर्यावरणीय कार्यहरूलाई निरन्तरता दिइने उहाँको भनाइ थियो।










