सडक पूर्वाधार र राष्ट्रिय राजमार्ग निर्माणलाई तीव्रता दिइने
नयाँ दिल्ली: त्रिपुराका मुख्यमन्त्री डा. मणिक शाहले नयाँ दिल्लीमा भारतका केन्द्रीय सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन्।
मुख्यमन्त्री डा. शाहको आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजमार्फत सार्वजनिक गरिएको जानकारी अनुसार उक्त भेटघाटमा त्रिपुरा राज्यमा सञ्चालित राष्ट्रिय राजमार्ग परियोजनाहरूलाई तिव्रता दिने तथा सडक सञ्जाललाई थप सुदृढ बनाउन नयाँ पूर्वाधार विकासका योजनाहरू अघि बढाउने विषयमा फलदायी छलफल भएको छ। बैठकमा त्रिपुराको सडक सञ्जालको आधुनिकीकरण र ग्रामीण क्षेत्रसम्मको सहज पहुँचका लागि चाल्नुपर्ने कदमहरूका बारेमा विस्तृत मन्थन गरिएको थियो।
छलफलका क्रममा मुख्यमन्त्री डा. शाहले त्रिपुराको यातायात क्षेत्र र सडक सञ्जालको स्तरोन्नतिका लागि केन्द्रीय मन्त्री गडकरीले पुर्याउँदै आएको निरन्तर सहयोग र प्रतिबद्धताप्रति विशेष आभार प्रकट गरे। उत्तर-पूर्वी राज्य त्रिपुराको समग्र आर्थिक विकास र कनेक्टिभिटीका लागि यहाँका राजमार्गहरूको समयमै निर्माण सम्पन्न हुनु आवश्यक रहेको कुरामा दुवै नेताहरू सहमत देखिएका छन्। दिल्लीमा भएको यस उच्चस्तरीय भेटवार्ताले त्रिपुरामा निर्माणाधीन सडक परियोजनाहरूमा देखिएका प्राविधिक तथा प्रशासनिक ढिलासुस्तीलाई हटाई तोकिएकै समयभित्र काम पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।










