बागडोगरा: विमानस्थलमा हराएको ब्याग पुलिसद्वारा सकुशल बरामद

FB_IMG_1782751524935

नगद सहितका सामान धनीलाई बुझाइयो

सिलगढी: सिलगढी महानगर पुलिस अन्तर्गतको बागडोगरा विमानस्थलमा एक यात्रीको हराएको हाते ब्याग पुलिसको सक्रियताका कारण केही समयमै सकुशल फेला परेको छ। दिल्लीबाट बागडोगरा विमानस्थल आइपुगेका एक यात्रीले आफ्नो महत्त्वपूर्ण हाते ब्याग हराएको भन्दै बागडोगरा थाना अन्तर्गतको विमानस्थल पुलिस चौकीमा उजुरी दिएका थिए। उक्त ब्यागभित्र ठुलो परिमाणमा नगद पैसाका साथै अन्य धेरै महत्त्वपूर्ण व्यक्तिगत कागजात र सामानहरू रहेका थिए।
​यात्रीको उजुरी प्राप्त हुनासाथ बागडोगरा विमानस्थल पुलिस चौकीका प्रभारी सब-इन्स्पेक्टर विश्वजीत सरकारले तुरुन्तै टोली परिचालन गरी खोजी कार्य सुरु गरेका थिए।
पुलिस टोलीको तीव्र र सफल प्रयासका कारण हराएको ब्याग भित्रका सम्पूर्ण सामान र नगद सुरक्षित तथा अक्षत अवस्थामा फेला पार्न सफल भयो।
बरामद गरिएको ब्यागलाई कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ। आफ्नो हराएको सामान यति चाँडै फिर्ता पाएपछि यात्रीले प्रहरी प्रशासनप्रति आभार प्रकट गरेका छन् भने सिलगढी पुलिसले पनि जनताको सुरक्षा, सेवा र विश्वासप्रति आफूहरू सधैँ प्रतिबद्ध रहेको पुनरावृत्ति गरेको छ।

About Author

Advertisement