काेलकाता: पश्चिम बङ्गला सरकारले किसान, चिया बगानका श्रमिक र आकस्मिक सेवाहरूसँग आबद्ध व्यक्तिहरूलाई लक्षित गर्दै एउटा ठूलो र राहतपूर्ण निर्णय गरेको छ। नयाँ व्यवस्था अनुसार अब विशेष परिस्थितिहरूमा तोकिएको मापदण्डका कन्टेनरहरूमा डिजेल भर्न अनुमति दिइने भएको छ। यसअघि कन्टेनरमा पेट्रोलियम पदार्थ ओसारपसार गर्न लगाइएको प्रतिबन्धका कारण खेतीपातीमा मोटरचालित उपकरण प्रयोग गर्ने किसान, चिया बगानका मेसिन सञ्चालक तथा अस्पताल र अन्य आपतकालीन सेवा प्रदायक संस्थाहरूले ठूलो सास्ती खेप्नुपरिरहेको थियो। मध्यपूर्वमा बढ्दै गएको तनावका कारण विश्वभर इन्धन आपूर्तिमा चिन्ता थपिएपछि भारतमा पनि मानिसहरूले सम्भावित अभावको डरले इन्धन भण्डारण गर्न थालेका थिए। सुरक्षाका दृष्टिकोणले साधारण प्लास्टिकका बोतलमा पेट्रोल वा डिजेल दिन नमिल्ने र प्रतिबन्धका कारण अत्यावश्यक कामहरू समेत रोकिने अवस्था आएपछि जनहितलाई ध्यानमा राख्दै यो छुट दिने निर्णय गरिएको हो। कोलकाताका पेट्रोल पम्प व्यवसायीहरूले पनि सरकारको यस व्यावहारिक निर्णयको स्वागत गर्दै यसको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन्।










