गुवाहाटी: मुख्यमन्त्री हिमन्त विश्व सरमाले सन् २०२२ मा शिलान्यास गरिएको प्राग्ज्योतिषपुर चिकित्सा महाविद्यालय एवं अस्पताल निर्माणको सपना अहिले द्रुत गतिमा साकार रूप लिँदै अघि बढेको बताउनुभएको छ। मुख्यमन्त्री सरमाले आज गुवाहाटी चिकित्सा महाविद्यालय एवं अस्पताल (जीएमसीएच) को निरीक्षण गरेपछि प्राग्ज्योतिषपुर मेडिकल कलेजको निर्माण कार्यको प्रगतिको समीक्षा गर्नुभयो।समीक्षा बैठकपछि जानकारी दिँदै मुख्यमन्त्री सरमाले उक्त अस्पतालमा हाल ओपीडी र विभिन्न रोग परीक्षण (डायग्नोस्टिक) सेवाहरू सुचारु भइसकेको र छिट्टै पूर्ण रूपमा सबै प्रकारका चिकित्सा सेवाहरू प्रारम्भ हुने जानकारी दिनुभयो।
मुख्यमन्त्री हिमन्त विश्व सरमाको भनाइ:”आसामको स्वास्थ्य क्षेत्रमा भइरहेको यो बृहत् पूर्वाधार क्रान्तिले प्रत्येक नागरिकका लागि सुलभ, आधुनिक र गुणस्तरीय चिकित्सा सेवाको अधिकारलाई अझ सुदृढ बनाएको छ। राज्यभरि एउटा नयाँ र स्वस्थ आसाम निर्माण गर्ने जुन यात्रा हामीले सुरु गरेका थियौँ, त्यो अहिले मूर्त यथार्थमा परिणत भइरहेको छ।”

यो परियोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि गुवाहाटी र आसपासका क्षेत्रका सर्वसाधारणले अझ अत्याधुनिक स्वास्थ्य सेवा पाउने विश्वास लिइएको छ।










