जलपाइगुडी: जलपाइगुडीको एक विशेष पोक्सो अदालतले अनलाइन कक्षा पढिरहेकी एक नाबालिका स्कुले बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवकलाई २२ वर्षको कठोर कारावासको सजाय सुनाएको छ। यसका साथै अदालतले दोषीलाई २० हजार रुपैयाँ जरिवाना समेत तोकेको छ, जरिवाना नतिरेमा थप एक वर्ष जेल बस्नुपर्नेछ। अदालतका अनुसार यो घटना सन् २०२० मा न्यू जलपाइगुडी थाना क्षेत्रमा भएको हो। महामारीको लकडाउनका कारण विद्यालयहरू बन्द रहेका बेला बालिका घरमै अनलाइन पढिरहेकी थिइन्। आमा र भाइ केही बेरका लागि नजिकैको पसलमा गएको र बुबा काममा बाहिर रहेको मौका छोपी ती युवकले कोठामा पसेर नाबालिकामाथि जबरजस्ती करणी गरेका थिए। आमा घर फर्किएपछि पीडित बालिकाले घटनाबारे जानकारी गराएकी थिइन् र सोही वर्षको अगस्ट १ मा प्रहरीमा उजुरी दर्ता गरिएको थियो। लामो सुनुवाइपछि अदालतले बुधबार यो अन्तिम फैसला सुनाएको हो।









