सिक्किमको पर्यटन विकासका लागि बीजेपी प्रतिनिधिमण्डलद्वारा केन्द्रीय मन्त्री शेखावतसँग भेट

f4b80576-b480-432e-9aa0-9f6f0139ede0

नयाँ दिल्ली: भारतीय जनता पार्टी (बीजेपी) सिक्किम प्रदेशका अध्यक्ष डी.आर. थापाको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले बुधबार नयाँ दिल्लीमा केन्द्रीय पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतसँग भेटवार्ता गरेको छ। भेटका क्रममा सिक्किमको पर्यटन क्षेत्रमा रहेका प्रचुर सम्भावना र उदीयमान अवसरहरूका बारेमा विस्तृत छलफल भएको छ।
​राज्य महासचिव अर्जुन राई समेत सहभागी रहेको उक्त बैठकमा प्रतिनिधिमण्डलले हालै प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सिक्किम भ्रमणका कारण राज्यको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको जानकारी गरायो। प्रधानमन्त्रीको भ्रमणले सिक्किमलाई एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गरेको र यस सिजनमा आन्तरिक तथा बाह्य पर्यटकको कीर्तिमानी आगमन भइरहेको प्रतिनिधिमण्डलले मन्त्री शेखावतलाई स्पष्ट पार्यो।
​भेटका क्रममा बीजेपी अध्यक्ष थापाले पर्यटन क्षेत्र सिक्किमको अर्थतन्त्रको मेरुदण्ड र यहाँका जनताको जीविकोपार्जनको सबैभन्दा ठूलो स्रोत भएको उल्लेख गरे। पर्यटकको बढ्दो संख्यालाई ध्यानमा राख्दै पर्यटकीय पूर्वाधारको विकास, नयाँ गन्तव्यहरूको प्रवर्द्धन, पर्यटकका लागि थप सेवा-सुविधाको विस्तार र दिगो पर्यटनका योजनाहरूमा मन्त्रालयले थप सहयोग गर्नुपर्ने माग प्रतिनिधिमण्डलले राखेको छ।
​केन्द्रीय मन्त्री शेखावतले सिक्किमको अथाह पर्यटकीय सम्भावनाको प्रशंसा गर्दै राज्यमा पर्यटन क्षेत्रको प्रवर्द्धन र पूर्वाधार सुदृढीकरणका लागि मन्त्रालयले निरन्तर सहयोग गर्ने आश्वासन दिएका छन्।

About Author

Advertisement