क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक गोलसँगै पोर्चुगलको धमाकेदार जित: उज्वेकिस्तान ५-० ले परास्त

IMG-20260624-WA0036


काठमाडौँ(नेत्र बिक्रम बिमली): फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानमाथि ५-० को एकपक्षीय र जबरजस्त जित दर्ता गरेको छ। यस धमाकेदार जितका महानायक रहे कप्तान क्रिस्टियानो रोनाल्डो, जसले म्याचमा दुईवटा सानदार गोल दाग्दै फुटबल इतिहासमा नयाँ कीर्तिमानहरूको ओइरो लगाएका छन्। खेल सुरु भएको छैटौँ मिनेटमै जोआओ क्यान्सिलोको क्रस पासलाई सदुपयोग गर्दै रोनाल्डोले बललाई जाली चुमाएर टोलीलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि १६ औँ मिनेटमा नुनो मेन्डिज र ३९ औँ मिनेटमा ब्रुनो फर्नान्डिजको पासमा पुनः रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमै पोर्चुगल बलियो स्थितिमा पुगिसकेको थियो। खेलको ८७ औँ मिनेटमा राफेल निओलले अर्को गोल थपे भने उज्वेकिस्तानका अब्दुलोभ खुसानोभले आत्मघाती गोल गर्न पुग्दा पोर्चुगल ५-० ले विजयी बन्यो।
​पहिलो खेलमा कंगोसँग बराबरीमा रोकिएर शान्त रहेका रोनाल्डो यस खेलमा भने पूर्ण रूपमा चम्किएका छन्। यस खेलको प्रदर्शनसँगै उनी सन् २००६ देखि हालसम्मका लगातार ६ वटा विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। यसका साथै ६ दशक अर्थात् ६० वर्ष अघि सन् १९६६ को विश्वकपमा पोर्चुगलका महान खेलाडी युसेबियोले बनाएको ९ गोलको ऐतिहासिक कीर्तिमानलाई समेत रोनाल्डोले ध्वस्त पारेका छन्। अब विश्वकपमा १० गोल पुर्‍याउँदै उनी पोर्चुगलका लागि विश्वकप इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् भने विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडीको कीर्तिमान पनि उनको नाममा लेखिएको छ। यो सानदार जितसँगै पोर्चुगलले तालिकामा महत्वपूर्ण ४ अंक जोड्न सफल भएको छ।

About Author

Advertisement