सिलगढीमा फ्लोर आर्टिस्ट सारिका राजपूतको शङ्कास्पद मृत्यु प्रकरण

Screenshot_20260622_222413_Google

न्यायको माग गर्दै परिवारद्वारा पुलिस कमिश्नरसमक्ष गुहार

सिलगढी:: सिलगढीमा २१ वर्षीया फ्लोर आर्टिस्ट सारिका राजपूतको रहस्यमयी मृत्युको मामिलाले यतिबेला निकै चर्चा र चिन्ता बढाएको छ। घटना घटेको आठ दिन बितिसक्दा पनि प्राथमिकिकी (एफआईआर) मा नाम तोकिएका बार मालिक र म्यानेजरविरुद्ध कुनै ठोस कारबाही नभएको आरोप लगाउँदै मृतकाकी आमा र बहिनीले सोमबार सिलगढीका पुलिस कमिश्नरसँग भेट गरी न्यायको गुहार मागेका छन्।
​मूल रूपमा दिल्ली निवासी सारिका विगत करिब दुई वर्षदेखि सिलगढीमा बस्दै आएकी थिइन् र उनी सेवक रोडस्थित एउटा रेस्टुरेन्ट-कम-बारमा फ्लोर आर्टिस्टको रूपमा कार्यरत थिइन्। परिवारका अनुसार उनी आफ्नो घरको आर्थिक जिम्मेवारी सम्हाल्न र सहयोग गर्नका लागि त्यहाँ काम गरिरहेकी थिइन्। हालै उनको शव भक्ति नगर थाना अन्तर्गत पर्ने सरकारपाडास्थित एउटा भाडाको कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो।
​यस घटनापछि सारिकाकी बहिनीले भक्ति नगर थानामा लिखित उजुरी दर्ता गराउँदै बार मालिक र म्यानेजरले सारिकालाई लामो समयदेखि मानसिक तथा शारीरिक रूपमा प्रताडित गरिरहेको आरोप लगाएकी थिइन्। परिवारको गुनासो छ कि उजुरी दिए पनि पुलिस प्रशासनले हालसम्म यस विषयमा कुनै उल्लेख्य कदम चालेको छैन।
​यसै सन्दर्भमा, मामिलाको निष्पक्ष र द्रुत अनुसन्धान सुनिश्चित गरियोस् भन्दै सोमबार सारिकाकी आमा र बहिनीले पुलिस कमिश्नरेटमा नयाँ उजुरी पत्र बुझाएका छन्। अर्कोतर्फ, पुलिस स्रोतका अनुसार यस घटनाको अनुसन्धान भइरहेको छ र पोस्टमार्टम रिपोर्टका साथै अन्य प्राविधिक प्रमाणहरूको प्रतीक्षा भइरहेको छ। अनुसन्धान टोलीले मृतकाको मोबाइल फोन, कल रेकर्डहरूको जाँच गर्नुका साथै उनको कार्यस्थल र व्यक्तिगत जीवनसँग जोडिएका व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ।

About Author

Advertisement