विधायक सोनाम लामाद्वारा तत्काल पहल गर्ने प्रतिबद्धता
खरसाङ/मिरिक: कोलकाताबाट फर्किने बित्तिकै विधायक सोनाम लामाले दूधिया क्षेत्रको भ्रमण गरी त्यहाँको वस्तुस्थितिको निरीक्षण गर्नुभएको छ। हालैको अविरल वर्षाका कारण यस क्षेत्रको अस्थायी (टेम्पोररी) पुल ध्वस्त भएपछि स्थानीय जनजीवन निकै प्रभावित बनेको छ।
भ्रमणका क्रममा विधायक लामाले प्रभावित स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष भेटघाट गर्नुभयो। उहाँले स्थानीयवासीका समस्या, दुःख–कष्ट र तत्काल आवश्यक रहेका सामग्री एवं सुविधाहरूबारे जानकारी लिनुभएको छ।
निरीक्षणपछि सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै विधायक लामाले भन्नुभयो, “मैले सम्बन्धित विभाग तथा अधिकारीहरूसँग तत्काल समन्वय गरी समस्या समाधानका लागि आवश्यक पहल गर्ने विषयमा छलफल गरिसकेको छु।”
स्थानीय जनतालाई ढाडस दिँदै उहाँले आफू सधैं जनताको साथमा रहेको र पुल पुनः सञ्चालन गरी जनजीवन सामान्य बनाउन आवश्यक कार्यहरू यथाशीघ्र अघि बढाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।









