इम्फाल : मणिपुरका मुख्यमन्त्री वाई. खेमचन्द सिंहले राज्यमा जारी हिंसा र अशान्तिले सरकारको विकास कार्यलाई गम्भीर रूपमा प्रभावित गरेको बताएका छन्। इम्फाल पश्चिम जिल्लामा आयोजित एक कार्यक्रममा बोल्दै उनले शान्ति स्थापना र जनजीवन सामान्य बनाउन सरकारको अधिकांश समय खर्चिनुपरेको उल्लेख गरे।
मुख्यमन्त्री सिंहका अनुसार पदभार ग्रहण गरेदेखि नै राज्यले विभिन्न प्रकारका द्वन्द्व र अशान्तिको सामना गरिरहेको छ। उनले सरकारको प्राथमिकता जनताका समस्या समाधान गर्नु र विभिन्न समुदायबीच सद्भाव कायम गर्नु रहेको बताए। “हामीले विकास योजनालाई अगाडि बढाउन खोजेका छौं, तर हिंसा र तनावका कारण धेरै ऊर्जा शान्ति स्थापनामै केन्द्रित गर्नुपरेको छ,” उनले भने।
उनले मुख्यमन्त्री बनेपछि जिरिबाम जिल्लाको भ्रमण गरी कुकी, मेइतेई र पाइते समुदायका प्रतिनिधिहरूसँग भेटवार्ता गरेको स्मरण गरे। तर सोही अवधिमा बिष्णुपुर जिल्लाको ट्रोङ्गलाओबीमा भएको बम विस्फोटमा दुई बालबालिकाको मृत्यु भएपछि राज्यमा पुनः तनाव बढेको थियो। उक्त घटनापछि करिब एक महिनासम्म विरोध प्रदर्शन र अशान्ति जारी रहेको उनले बताए।
त्यस्तै, उख्रुल जिल्लाको भ्रमणका क्रममा कुकी र ताङ्खुल नागा समुदायका गाउँलेहरूसँग शान्तिको अपिल गरे पनि सोही दिन भएको आक्रमणमा दुई ताङ्खुल नागरिकको ज्यान गएको उनले जानकारी दिए।
मुख्यमन्त्रीले केही व्यक्तिहरू र समूहहरू शान्ति प्रक्रिया सफल नहोस् भन्ने चाहना राखिरहेको आरोप लगाए। उनका अनुसार सामान्य अवस्था फर्किएमा आफ्ना आर्थिक स्वार्थ प्रभावित हुने डरले केही पक्षहरूले राज्यमा अस्थिरता कायम राख्न खोजिरहेका छन्। उनले नागरिकको स्वतन्त्र आवागमनमा अवरोध पुर्याउने तत्वहरूको पहिचान गरी कारबाही गर्नुपर्नेमा जोड दिए।
सन् २०२३ मे ३ देखि सुरु भएको मेइतेई र कुकी समुदायबीचको जातीय हिंसामा हालसम्म कम्तीमा २६० जनाको ज्यान गएको छ भने हजारौं मानिस विस्थापित भएका छन्।











