“चिया बगान बन्द गरेर होटल बनाउन दिइने छैन, ३१३ करोडको केन्द्रीय फन्ड चाँडै श्रमिक हितमा खर्च गरिने”: सांसद राजु विष्ट

FB_IMG_1780420873195

सिलगढी: उत्तर बङ्गालको चिया उद्योगको समग्र विकास, लामो समयदेखि बन्द तथा बिरामी (रोगी) अवस्थामा रहेका चिया बगानहरूको स्थायी समस्या समाधान अनि श्रमिकहरूको चौतर्फी कल्याणका विषयलाई लिएर मङ्गलवार उप-सचिवालय उत्तरकन्यामा एउटा उच्चस्तरीय महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ।
​बैठकको अवधि चिया उद्योगको वर्तमान मन्दी, चिया श्रमिकहरूले भोग्नुपरिरहेका अनेकौँ समस्याहरू र यस क्षेत्रको भविष्यको रणनीतिको विषयमा सविस्तार चर्चा गरियो। यस महत्त्वपूर्ण छलफलमा बन्द चिया बगानहरूको भविष्य, श्रमिकहरूको जीवनस्तर, स्वास्थ्य सेवा, शिक्षा र सामाजिक सुरक्षा जस्ता अति संवेदनशील मुद्दाहरूलाई मुख्य रूपमा प्राथमिकता दिइएको थियो।
​बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै दार्जिलिङका सांसद राजु विष्टले उत्तर बङ्गालको चिया उद्योग र श्रमिकहरूको समग्र हित नै आफूहरूको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो। सोही क्रममा उहाँले राज्य सरकारमाथि कडा आरोप लगाउँदै भन्नुभयो, “केन्द्र सरकारद्वारा ‘चिया श्रमिक कल्याण योजना’ अन्तर्गत आवन्तन गरिएको १,००० करोड रुपियाँमध्ये ३१३ करोड रुपियाँ राज्य सरकारले आवश्यक प्रस्ताव नपठाएको कारणले गर्दा नै खर्च हुन नसकी थन्किएर बसेको हो।” उहाँले यस बाँकी रहेको राशिको उपयोग चाँडै नै चिया बगानका श्रमिकहरूको स्वास्थ्य सेवा, कल्याणकारी कार्य र आधारभूत पूर्वाधारको विकासमा गरिने भरोसा दिलाउनुभयो।
​सांसद विष्टले चिया बगानका मालिक र भू-माफियाहरूलाई कडा सन्देश दिँदै भन्नुभयो कि अब उत्तर बङ्गालमा कुनै पनि चिया बगान बन्द रहने छैन। बन्द रहेका सबै चिया बगानहरूलाई चाँडोभन्दा चाँडो खोल्ने ठोस पहल भइरहेको छ। चिया बगानको जमिनलाई अन्यत्र मोडेर होटल वा रिसोर्ट बनाउने कुनै पनि प्रयासलाई कदै सहन गरिने छैन, चिया बगानको जमिनमा केवल चियाकै खेती हुनुपर्छ। आगामी दिनमा यस मुद्दालाई लिएर अझ विस्तृत र कडा कार्ययोजना तयार गरिने पनि उहाँले जानकारी दिनुभयो।
​यस महत्त्वपूर्ण बैठकमा उत्तर बङ्गाल विकास एवं खेलकुद मन्त्री निसिथ प्रामानिक, दार्जिलिङका सांसद राजु विष्ट, सांसद मनोज तिग्गा, विधायक विशाल लामालगायत यस क्षेत्रका कतिपय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसका साथै टि बोर्डका उच्च अधिकारी र प्रशासनिक प्रतिनिधिहरूले पनि बैठकमा भाग लिएका थिए।

About Author

Advertisement