काठमाडौँ(नेत्र बिक्रम बिमली): नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर लैजाने भन्दै आन्तरिक छलफल र संवादलाई तीव्र पारिरहेका बेला संस्थापनइतर पक्षका समानान्तर गतिविधिहरूले पार्टीभित्रको आन्तरिक धु्रवीकरणलाई थप सतहमा ल्याएको छ। संस्थापन पक्षले एकताको प्रयास स्वरूप विभिन्न नेताहरूलाई समेट्ने रणनीति लिएको दाबी गरे पनि इतर पक्षले भने यसलाई शक्ति सञ्चय गर्ने स्वार्थ र इतर समूहलाई कमजोर बनाउने रणनीतिको रूपमा बुझेका छन्।
हालै सम्पन्न संस्थापनइतर पक्षको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा नेता रमेश लेखकले सभापति गगन थापालाई गरेको आह्वानलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ। नेता लेखकले विगतमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा जस्ता शीर्ष नेताहरूले लचकता देखाएर पार्टी एकता जोगाएको ऐतिहासिक सन्दर्भ स्मरण गराउँदै बृहत् एकताका निम्ति सभापति हदैसम्म लचिलो हुनुपर्ने र पूर्वसभापति देउवा तथा उनको परिवारको योगदानलाई ध्यान दिनुपर्ने बताए। तर यो भेलाको केही घण्टापछि नै संस्थापन पक्षका युवा नेता कुन्दनराज काफ्लेले सामाजिक सञ्जालमार्फत विशेष महाधिवेशन र संस्थापनइतरका गतिविधिप्रति निकै कडा टिप्पणी गरे। उनले इमान्दार कार्यकर्ताहरूलाई भ्रममा पारेर हस्ताक्षर सङ्कलन गरी विशेष महाधिवेशन नियोजित र प्रायोजित रूपमा गराइएको आरोप लगाउँदै यसले पार्टीलाई जगैदेखि कमजोर बनाएको र निर्वाचनमा हार बेहोर्नुपरेको गम्भीर दाबी गरे।
पार्टीभित्रको यो किचलो सभापति गगन थापाले गत वैशाख २८ गते केन्द्रीय समितिमा देउवा र शेखर कोइराला निकट मानिने १९ जना नेताहरूलाई मनोनीत गरेपछि थप चर्किएको हो। मनोनयनको भोलिपल्टै नेता शेखर कोइरालाले सामाजिक सञ्जालमार्फत तीव्र असन्तुष्टि जनाउँदै यस कदमले पार्टीको बृहत्तर एकतामा गम्भीर ठेस पुर्याएको टिप्पणी गरे। इतर खेमाले १५ औँ महाधिवेशन सम्पन्न गर्नका लागि अलग र संयुक्त सांगठनिक संरचना बनाउनुपर्ने वा १४औँ महाधिवेशनकै केन्द्रीय समितिलाई समायोजन गरेर लैजानुपर्ने पक्षमा वकालत गरिरहेको छ। तर, संस्थापन पक्ष भने यो कदम विधानको सीमा र पूर्वाभ्यासविपरीत हुने तथा यसले सभापति थापालाई नै अल्पमतमा पार्ने जोखिम रहने तर्क गर्दछ। महामन्त्री प्रदीप पौडेलले दुईथरी समितिलाई मिलाउने इतर पक्षको यो प्रस्तावलाई शक्ति सञ्चय गर्ने स्वार्थको रूपमा टिप्पणी गरेका छन्।
पार्टीभित्र राजनीतिक विरासत बोकेका स्थापित परिवारका नेताहरूलाई आफ्नो पक्षमा तान्ने संस्थापन पक्षको रणनीतिलाई इतर पक्षले आफूहरूलाई कमजोर बनाउने चालको रूपमा व्याख्या गरेको छ। विगतमा देउवा पक्षमा रहेका विश्वप्रकाश शर्मा विशेष महाधिवेशनबाट उपसभापति बन्नु र हालै सुजाता कोइराला मनोनीत हुनुलाई यसै रणनीतिको हिस्सा मानिएको छ। यद्यपि, महामन्त्री प्रदीप पौडेल भने यो आरोप स्वीकार्दैनन् र पार्टीको प्रयास सबैलाई समेटेर लैजाने नै भएको दाबी गर्छन्। वैधानिक व्यवस्था नाघेर वा विशेष महाधिवेशनको म्यान्डेटभन्दा बाहिर गएर सम्झौता गर्न सम्भव नहुने उनको तर्क छ।
यस आन्तरिक टकरावका बीच कांग्रेस विभाजनकै सङ्घारमा पुगेको हो कि भन्ने संशय पनि उत्पन्न भएको छ। तर संस्थापन पक्षको प्रस्तावपछि पार्टी एकतालाई बल पुग्ने विश्वासका साथ मनोनयन स्वीकार गरेका इतर खेमाका नेता जीवन परियार भने पार्टी फुट्ने कुरामा विश्वास गर्दैनन्। सभापतिले पार्टीलाई एक ढिक्का बनाउने प्रयास गरिरहेको र संवाद जारी राख्नुपर्ने उल्लेख गर्दै उनले अहिले देखिएका समानान्तर गतिविधिहरू विभाजनका लागि नभई नेतृत्वमाथि सम्मानजनक एकताका लागि दबाब सिर्जना गर्ने उद्देश्यले मात्र भएका हुन् भन्ने दाबी गरे।
सर्वोच्च अदालतको फैसला र विशेष महाधिवेशनको वैधानिकताका बाबजुद नेपाली कांग्रेसभित्र संस्थापन र इतर पक्षबीचको आन्तरिक द्वन्द्व र अविश्वास कायमै छ। विधानको परिधिभित्रै रहेर संवादमार्फत निकास खोज्ने संस्थापन पक्षको भनाइ र इतर पक्षको दबाबमूलक रणनीतिबीच नेपाली कांग्रेस आगामी दिनमा कसरी एकढिक्का भएर अगाडि बढ्छ भन्ने कुरा नेतृत्वको राजनीतिक चातुर्यतामा निर्भर रहने देखिन्छ।









