मुख्यमन्त्री अधिकारीको दिल्ली भ्रमणलगत्तै केन्द्रद्वारा बजेट फुकुवा, बंगालका विकास योजनाका लागि ३९ हजार करोड स्वीकृत

Screenshot_20260523_175158_Instagram

​नयाँ दिल्ली: पश्चिम बंगालका नवनियुक्त मुख्यमन्त्री शुभेंदु अधिकारीको पहिलो दिल्ली भ्रमणलगत्तै केन्द्र सरकारले राज्यको विकासका लागि ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ। मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहसँग भेटवार्ता गरेपछि केन्द्र सरकारले विगत लामो समयदेखि रोकिएका विभिन्न विकास योजनाहरूका लागि ३९ हजार करोड रुपैयाँ जारी गर्ने निर्णय गरेको हो। केन्द्रीय जलस्रोत मन्त्रालयअन्तर्गतका यी योजनाहरू यसअघिको ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस सरकारका पालामा रोकिएका थिए। मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्री मोदीसँगको छलफल अत्यन्तै सकारात्मक रहेको उल्लेख गर्दै केन्द्र सरकारले बंगालको आर्थिक विकास, औद्योगिक पुनरुत्थान र युवा सशक्तीकरणका लागि पूर्ण सहयोग र मार्गदर्शनको आश्वासन दिएको बताएका छन्। प्रधानमन्त्री मोदीले ‘सबका साथ, सबका विकास’ को अवधारणा अनुरूप बंगालको समग्र विकास केन्द्र सरकारको सर्वोच्च प्राथमिकतामा रहेको दोहोर्‍याएका छन्।
​यस बजेट स्वीकृत भएसँगै बंगालमा आयुष्मान भारत र ग्रामीण रोजगारी प्रवर्द्धन गर्ने विशेष योजना ‘भीबी जी–राम जी’ (VB G-RAM G) जस्ता केन्द्रीय कार्यक्रमहरू द्रुत गतिमा अघि बढाउने बाटो खुलेको छ। आगामी जुलाई १ देखि लागू हुने यस ग्रामीण रोजगारी योजनाअन्तर्गत प्रत्येक ग्रामीण परिवारलाई वर्षमा १२५ दिनको तलबसहितको रोजगारी सुनिश्चित गरिने जनाइएको छ। यसैगरी, राज्यमा आयुष्मान आरोग्य मन्दिरहरू (स्वास्थ्य तथा कल्याण केन्द्र) स्थापना गर्ने विषयमा केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले राज्यका स्वास्थ्य अधिकारीहरूसँग विशेष भर्चुअल बैठक गरी तयारी तीव्र पारेका छन्। अर्कोतर्फ, कोलकाता विमानस्थलको सुरक्षा घेराभित्र रहेको ‘गौरीपुर जामे मस्जिद’ हटाउने वा स्थानान्तरण गर्ने संवेदनशील विवादलाई आगामी इद–उज–जुहा (बकरिद) सम्मका लागि स्थगित गरिएको छ। विमानस्थल अधिकारीहरूले सुरक्षा क्षेत्रलाई व्यवस्थित गरिने तर धार्मिक संरचना भत्काउने कार्यमा आफ्नो संलग्नता नरहने स्पष्ट पारेपछि राज्य प्रशासनले तत्कालका लागि उक्त मामिलालाई संवादमार्फत टुङ्ग्याउने गरी थाती राखेको हो।

About Author

Advertisement