सिलगढी: उत्तर बंगालको विकास कार्यलाई प्राथमिकता दिँदै पश्चिम बंगालका मुख्यमन्त्री सुवेन्दु अधिकारी प्रत्येक महिना यस क्षेत्रमा भ्रमणमा आउने भएका छन्। बुधबार सिलगढी भ्रमणका क्रममा उनले धेरै महत्वपूर्ण घोषणा गर्दै आफ्नो भ्रमण केवल प्रशासनिक कार्य तथा विकास योजनाको प्रगतिका लागि हुने बताए।मुख्यमन्त्रीले उत्तर बंगाल विकास विभागका मन्त्रीले प्रत्येक साता एक दिन उत्तरकन्यामा प्रशासनिक कार्यालय सञ्चालन गर्ने घोषणा पनि गरे। यसमार्फत उत्तर बंगालका विभिन्न समस्याको शीघ्र समाधान तथा विकास कार्यलाई तीव्रता दिने लक्ष्य राखिएको छ।प्रशासनिक बैठकमा सहभागी हुन मुख्यमन्त्री बागडोगरा विमानस्थल पुग्दा बिहानदेखि नै उत्सवमय वातावरण देखिएको थियो। भारतीय जनता पार्टीका कार्यकर्ता तथा समर्थकहरूले उनको स्वागत गरेका थिए। यस अवसरमा दार्जिलिङका सांसद राजु बिष्ट, उत्तर बंगाल विकास विभागका मन्त्री निशीथ प्रमाणिक तथा दलका अन्य वरिष्ठ नेताहरू उपस्थित थिए।विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्रीले सन् २००९ देखि उत्तर बंगालका जनताले भारतीय जनता पार्टीमाथि विश्वास व्यक्त गर्दै आएको र चुनावी घोषणापत्रमा गरिएका सबै वाचाहरूलाई चरणबद्ध रूपमा विकास कार्यक्रममार्फत पूरा गरिने बताए।त्यसपछि बागडोगराबाट सडकमार्ग हुँदै उनी पहिले मल्लागुडीस्थित दलको कार्यालय पुगे र त्यसपछि प्रशासनिक बैठकमा सहभागी हुन उत्तरकन्या प्रस्थान गरे।मुख्यमन्त्रीको यस घोषणालाई उत्तर बंगालको प्रशासनिक तथा पूर्वाधार विकासका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।










