नयाँ दिल्ली: ब्रिक्स बैठकमा सहभागी हुन भारत आएका इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्बन्ध र मध्यपूर्वको तनावलाई लिएर कडा टिप्पणी गरेका छन्। नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले इरानसँग अमेरिकामथि अविश्वास गर्ने पर्याप्त कारणहरू भए पनि इरानमाथि विना शङ्का भरोसा गर्न सक्ने दाबी गरे। दुई देशबीचको वार्ता ‘विश्वासको अभाव’ का कारण प्रभावित भइरहेको उल्लेख गर्दै अराघचीले अमेरिकाले युद्धको लक्ष्य हासिल गर्न नसकेपछि मात्र वार्ताको बाटो रोजेको आरोप लगाए।
इरानी विदेशमन्त्रीले आफ्नो देश कुनै पनि प्रकारको दबाब वा धम्कीसामु नझुक्ने स्पष्ट पार्दै इरानले केवल ‘सम्मानको भाषा’ मात्र बुझ्ने बताए। इरानसँग जोडिएका समस्याहरूको सैन्य समाधान सम्भव नरहेको उनको जिकिर थियो। मध्यपूर्वको वर्तमान अवस्थाबारे बोल्दै उनले इरानले कूटनीतिलाई मौका दिन चाहेकाले अहिले ‘कमजोर युद्धविराम’ को स्थिति रहेको स्वीकार गरे। यस क्षेत्रमा शान्ति स्थापनाका लागि भारतले ठूलो भूमिका खेल्न सक्ने भन्दै उनले नयाँ दिल्लीको तर्फबाट हुने जुनसुकै शान्ति प्रयासलाई इरानले स्वागत गर्ने बताए।
बैठकका क्रममा भारतीय विदेशमन्त्री एस. जयशंकरले मध्यपूर्वमा बढ्दो अस्थिरताले विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पार्न सक्ने भन्दै चेतावनी दिएका छन्। ऊर्जा आपूर्तिका लागि विश्वकै महत्त्वपूर्ण मानिने हर्मुज जलडमरूमध्यका विषयमा बोल्दै अराघचीले यो मार्ग सबैका लागि खुला रहेको तर इरानसँग युद्धमा संलग्न देशका जहाजहरूलाई भने प्रवेश निषेध गरिने स्पष्ट पारे। चीनको शान्ति प्रयासप्रति पनि सकारात्मक संकेत दिँदै उनले युद्ध अन्त्य भएपछि स्थिति सामान्य हुने विश्वास व्यक्त गरे।










