मुंबई: आदित्य धरको निर्देशनमा बनेको स्पाई थ्रिलर फिल्म ‘धुरन्धर २’ ले भारतीय चलचित्र इतिहासमा नयाँ मानक स्थापित गरेको छ। गत मार्च १९, २०२६ मा प्रदर्शनमा आएको यस फिल्मले हलमा ५४ दिन पूरा गरिसक्दा पनि आफ्नो प्रभाव कायम राखेको छ। हालसम्मको तथ्याङ्क अनुसार फिल्मले विश्वभरबाट १,७९५ करोड भारु संकलन गर्दै आमिर खानको ‘दंगल’ (२,०७० करोड) पछिको सबैभन्दा बढी कमाउने भारतीय फिल्म बन्ने दिशामा अग्रसर छ।
भारतमा मात्र यस फिल्मले १,१४३.४४ करोड भारु नेट कलेक्सन गरेको छ भने ग्रस कलेक्सन १,३६८.५२ करोड पुगेको छ। फिल्मले ५४ औँ दिनमा पनि ७२६ शोहरू मार्फत ३५ लाखको कमाइ गर्दै आफ्नो उपस्थिति जनाएको छ। यद्यपि, गल्फ देशहरूमा लगाइएको प्रतिबन्ध र चीनको बजारमा सोचे जस्तो कमाइ हुन नसक्दा ‘दंगल’ को रेकर्ड भेट्टाउन केही ढिलाइ भएको देखिन्छ। हलमा सफलताको झण्डा गाडेपछि यो फिल्म अब मे १४ मा ओटीटी प्लेटफर्ममा ‘रअ र अनदेखिएको’ (Raw and Unseen) भर्सनका साथ रिलिज हुने तयारीमा छ।











