झापा: नेपाल पत्रकार महासंघ झापा शाखाले तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय अग्रज पत्रकार तथा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) झापाका अध्यक्ष नेत्रविक्रम बिमलीलाई विशेष सम्मान दिएको छ।
महासंघको वार्षिक साधारणसभाको अवसरमा सोमबार बिर्तामोडमा आयोजित कार्यक्रममा बिमलीलाई दीर्घकालीन पत्रकारिता योगदान र विशिष्ट मानवीय सेवाको कदरस्वरूप सम्मानपत्र प्रदान गरिएको हो।
विगत ३० वर्षभन्दा बढी समयदेखि झापालाई कर्मथलो बनाई पत्रकारितामा सक्रिय बिमलीले विशेष गरी ग्रामीण भेगका ओझेलमा परेका मुद्दाहरूलाई राष्ट्रिय स्तरमा पुर्याउन महत्त्वपूर्ण भूमिका निभाएका छन्।
ग्रामीण प्रेस क्लब झापाका अध्यक्षसमेत रहेका बिमली नेपाल पत्रकार महासंघ झापाका सदस्यका रूपमा पनि उत्तिकै सक्रिय छन्। उनले सत्य, न्याय र नागरिकको सूचनाको हक सुनिश्चित गर्न निरन्तर निर्भीक पत्रकारिता गर्दै आएका छन्।
पत्रकारितासँगै बिमली मानवीय सेवा र सामाजिक कार्यमा पनि अग्रणी मानिन्छन्। उनले हालसम्म १२१ पटक स्वयंसेवी रक्तदान गरिसकेका छन्, जसलाई समाजले महत्त्वपूर्ण मानवीय सेवाका रूपमा लिने गरेको छ।
नेपाल रेडक्रस सोसाइटी, नेपाल स्वयंसेवी रक्तदाता समाज र अन्तर्राष्ट्रिय ब्लड डोनर्स एसोसिएसनजस्ता संस्थाहरूसँग आबद्ध रहँदै उनले यो अतुलनीय योगदान पुर्याएका छन्, जसलाई महासंघले नयाँ पुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा उल्लेख गरेको छ।
कार्यक्रममा महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष दीपक आचार्य र झापा शाखाका अध्यक्ष एकराज गिरीले बिमलीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। सम्मानपत्रमा बिमलीले लोकतान्त्रिक मूल्य-मान्यता, सुशासन र जनहित प्रवर्द्धनमा पुर्याएको योगदानको उच्च प्रशंसा गरिएको छ।











