पर्यटन प्रवद्र्धनका लागि नेपाली फोटोपत्रकार टोली बंगलादेश प्रस्थान

IMG-20260427-WA0068

काठमाडौं: राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १० सदस्यीय नेपाली फोटोपत्रकार टोली बंगलादेश प्रस्थान गरेको छ। बंगलादेश फोटोपत्रकार संघको औपचारिक निमन्त्रणामा प्रस्थान गरेको यस टोलीमा केन्द्रीय तथा जिल्ला तहबाट छनोट गरिएका फोटोपत्रकारहरू समावेश छन्। विगत २१ वर्षदेखि नेपाल र बंगलादेशका फोटोपत्रकारहरूबीच कायम रहँदै आएको व्यावसायिक भाइचारा र सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले यो भ्रमण आयोजना गरिएको हो।
​यस भ्रमणका क्रममा टोलीले बंगलादेशमा ‘ब्युटिफूल नेपाल’ शीर्षकमा एक विशेष फोटो प्रदर्शनीको आयोजना गर्नेछ, जहाँ नेपालको प्राकृतिक सौन्दर्य, पर्यटकीय गन्तव्य र मौलिक संस्कृति झल्काउने ४० वटा छानिएका तस्बिरहरू प्रदर्शन गरिनेछन् । यस प्रदर्शनीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। प्रदर्शनीका साथै नेपाली टोलीले बंगलादेशमा आयोजना हुने अन्तर्राष्ट्रिय फोटोपत्रकारिता सेमिनारमा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ, जसमा अध्यक्ष वन्तले नेपाल र समग्र एसियाली क्षेत्रमा फोटोपत्रकारिताको वर्तमान अवस्था र यस क्षेत्रले भोगिरहेका चुनौतीहरूका बारेमा आफ्नो प्रस्तुति दिनेछन्।
​भ्रमणकै सिलसिलामा नेपाली टोलीले ‘आईएचआई फोटोजर्नलिस्ट अप्रिसिएसन अवार्ड २०२६’ कार्यक्रममा भाग लिनुका साथै बंगलादेशका प्रमुख पर्यटकीय स्थलहरू कक्स बजार, चिट्टगाउँ र राजधानी ढाकाको अवलोकन भ्रमण समेत गर्ने तय भएको छ। यस किसिमको अन्तरदेशीय आदान–प्रदानले दुई देशका फोटोपत्रकारहरूबीचको पेशागत सीप साटासाट हुनुका साथै पर्यटन क्षेत्रको विकासमा समेत सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ।

About Author

Advertisement