नेपाल: महिला गोल्ड कप: थिम्पु सिटीलाई हराउँदै चर्च ब्वाइज

IMG-20260419-WA0092

​भद्रपुर(नेत्र बिक्रम बिमली): भुटानको थिम्पु सिटी फुटबल क्लबलाई प्रतिस्पर्धात्मक खेलमा स्तब्ध पार्दै चर्च ब्वाइज युनाइटेड झापाको चन्द्रगढीमा जारी ‘ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ को सेमिफाइनलमा प्रवेश गरेको छ।
​चन्द्रगढी रंगशालामा आइतबार भएको खेलमा चर्च ब्वाइजले पाहुना टोली थिम्पु सिटीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो। हारसँगै थिम्पु सिटी प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ।
​चर्च ब्वाइजले खेलको २७औँ मिनेटमा मरियम खातुनको गोलबाट सुरुवाती अग्रता लिएको थियो। थिम्पुकी गोलकिपर पोस्ट छाडेर अघि बढेको अवस्थामा खातुनले डिबक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो। पहिलो हाफको इन्जुरी समयमा वर्षा ओलीको पासलाई सदुपयोग गर्दै खातुनले नै व्यक्तिगत दोस्रो गोल गरिन् र टोलीलाई २–० को बलियो स्थितिमा पुर्‍याइन्।
​दोस्रो हाफमा थिम्पु सिटीले खेलमा फर्कने प्रयास गर्‍यो। खेलको ४४ औँ मिनेटमा थिम्पुकी रोता राईले गोल गर्दै अन्तर घटाइन्। ५८ औँ मिनेटमा चर्च ब्वाइजकी डिफेन्डर मनिता तामाङले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरेपछि खेल २–२ को रोमाञ्चक बराबरीमा पुगेको थियो।
​खेलको ७९औँ मिनेटमा वर्षा ओलीले निर्णायक गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित गरिन्। थिम्पुका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै उनले गोलकिपरलाई बिट गरेकी थिइन्।
​चर्च ब्वाइजकी मरियम खातुन ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। सोमबारको खेल नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए।

नेपालकै सर्वाधिक पुरस्कार राशि रहेको यस प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा विधागत उत्कृष्टहरूले जनही २५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।

About Author

Advertisement