अमित शाहद्वारा ममता बनर्जीमाथि आरोप
काेलकाता: पश्चिम बंगाल विधानसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक बयानबाजी तीव्र बन्दै गएको छ। भारतका गृहमन्त्री अमित शाह ले पश्चिम मेदिनीपुरको देबरा क्षेत्रमा आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री ममता बनर्जी माथि कडा टिप्पणी गरेका छन्।
उनले राज्यका नागरिक समस्यामा परेको दाबी गर्दै मुख्यमन्त्री आफ्नो भतिजालाई नेतृत्व सुम्पनेतर्फ केन्द्रित रहेको आरोप लगाए। साथै तृणमूल कांग्रेस सरकारले अवैध आप्रवासीलाई संरक्षण दिएको पनि उनको भनाइ थियो।
अमित शाह ले भारतीय जनता पार्टी सत्तामा आए अवैध आप्रवासीको पहिचान गरी कारबाही गरिने बताए। उनले ‘कट-मनी’ र भ्रष्टाचारको विषय उठाउँदै वर्तमान सरकारको आलोचना गरे।
सभाका क्रममा उनले अभिषेक बनर्जी माथि समेत आरोप लगाउँदै राज्यमा विकासभन्दा अन्य प्राथमिकतामा ध्यान दिइएको बताए।











