नयाँ दिल्ली: कांग्रेसले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माथि महिला आरक्षणलाई चुनावी मुद्दा बनाएको आरोप लगाएको छ। पार्टीका महासचिव जयराम रमेश ले प्रधानमन्त्री यो विषयमा ३० महिनापछि ब्युँझिएको र अघिल्लो अडानबाट पछि हटेको बताएका छन्।
उनले सरकार महिला आरक्षणलाई चुनावी एजेन्डा बनाएर मतदातालाई प्रभावित गर्न खोजिरहेको आरोप लगाए। असममा आयोजित सभामा नरेन्द्र मोदी ले महिलाका लागि ३३ प्रतिशत आरक्षण सन् २०२९ को आम चुनावबाट लागू गर्ने बताएका थिए र यस विषयमा छलफल गर्न अप्रिल १६ मा संसदको विशेष अधिवेशन बोलाइने जानकारी दिएका थिए।
यसको प्रतिक्रिया दिँदै जयराम रमेश ले नारी शक्ति वंदन ऐन २०२३ संसदबाट सर्वसम्मत रूपमा पारित भइसकेको र कांग्रेसले यसलाई २०२४ को चुनावबाटै लागू गर्न माग गरेको बताए।
उनका अनुसार सरकारले परिसीमन र जनगणनाको शर्त थपेर यसलाई कार्यान्वयन हुन नदिएको हो। अहिले आर्थिक संकटबाट ध्यान हटाउन र चुनावी प्रभाव पार्न फेरि यो विषय उठाइएको आरोप उनले लगाए।










