ट्रम्प भन्छन्: ‘यो हाम्रो जिम्मेवारी होइन’
दुबई: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग बढ्दो तनावका बीच सहयोगी देशहरूप्रति कडा टिप्पणी गर्दै हर्मुज जलडमरूमध्यको सुरक्षा सुनिश्चित गर्नु अमेरिकाको जिम्मेवारी नभएको बताएका छन्।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले उक्त महत्वपूर्ण समुद्री मार्ग खुला राख्ने जिम्मा त्यसमा निर्भर देशहरूको भएको बताए। उनले भने, “यो हाम्रो काम होइन। यो फ्रान्सको काम हो र ती देशहरूको, जसले यो जलडमरूमध्य प्रयोग गर्छन्।”
ट्रम्पले अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र आक्रमणहरू अन्त्य गर्न सक्ने अनुमानसमेत व्यक्त गरे। उनले इरानले उक्त मार्ग अवरुद्ध गरे त्यसबाट हुने परिणामसँग अमेरिकाको “कुनै सम्बन्ध नरहने” स्पष्ट पारे।
यसबीच हर्मुज जलडमरूमध्यमा बढ्दो तनावले विश्व ऊर्जा बजारमा प्रभाव पारेको छ। अमेरिकामा पेट्रोलको औसत मूल्य प्रति ग्यालोन चार डलरभन्दा माथि पुगेको छ।
मंगलबार बिहान अमेरिकाले इरानको इस्फहानस्थित एक परमाणु केन्द्रलाई लक्षित गर्दै आक्रमण गरेको थियो। त्यसको जवाफमा तेहरानले दुबई तट नजिकै एक कुवेती तेल ट्यांकरमाथि हमला गरेको बताइएको छ। यी घटनाले क्षेत्रीय तनाव झन् बढाएको छ।
अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएका आक्रमणपछि सुरु भएको यस द्वन्द्वमा हालसम्म ३,००० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। साथै, विश्वव्यापी रूपमा तेल र प्राकृतिक ग्यास आपूर्तिमा पनि गम्भीर असर परेको छ।








