भाजपा युवा नेताको गिरफ्तारीप्रति सांसद राजु बिष्टको कडा प्रतिक्रिया

FB_IMG_1774957903126

दार्जिलिङ: दार्जिलिङका सांसद राजु बिष्टले तृणमूल काँग्रेस प्रशासनले विपक्षी कार्यकर्तामाथि डर र त्रास फैलाउने उद्देश्यले सन्त्रासपूर्ण रणनीति अपनाएको आरोप लगाए।
उनका अनुसार बितेको राति दार्जिलिङ प्रहरीले भाजपा युवा नेता सुपेन्द्र प्रधानलाई गिरफ्तार गर्यो। प्रधान दार्जिलिङका विधायक उम्मेदवार नोमन राईका पक्षमा चुनाव प्रचार गरिरहेका बेला पक्राउ परे। उनलाई सन् २०१६ को एक पुरानो मुद्दासँग सम्बन्धित देखाउँदै पक्राउ गरिएको बताइएको छ।
सांसद बिष्टले कानुनी व्यवस्थाप्रति सम्मान रहेको जनाउँदै चुनावी माहोलमा १० वर्ष पुरानो मुद्दा निकालेर विपक्षी कार्यकर्तामाथि मात्र कारबाही गर्नु राजनीतिक पूर्वाग्रह भएको बताए। उनका अनुसार यस्तो कदमले तृणमूल काँग्रेस र प्रशासन राजनीतिक अवसरवादमा लागेको स्पष्ट देखाउँछ।
उनले दार्जिलिङ पहाड, तराई र डुवर्सका जनताले यसै कारण तृणमूल काँग्रेसलाई अस्वीकार गरेको पनि उल्लेख गरे। सन् २०१७ को गोर्खाल्याण्ड आन्दोलनपछि क्षेत्रका बासिन्दाहरू निरन्तर उत्पीडनमा परेको दाबी गर्दै उनले धेरैलाई झुटा आरोपमा पक्राउ गरिएको र परिवारलाई समेत दुःख दिइएको आरोप लगाए।
सांसद बिष्टले यस्तो गतिविधिको कडा शब्दमा भर्त्सना गर्दै गोर्खा समुदाय यस्ता दबाबबाट नडराउने बताए। उनले सुपेन्द्र प्रधान एक्ला नभएको र सम्पूर्ण समुदाय उनको साथमा उभिएको स्पष्ट पारे।
साथै, एक सांसदको हैसियतले सुपेन्द्र प्रधानलाई न्याय दिलाउन आफ्नो अधिकारभित्र रहेर सबै आवश्यक कदम चाल्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

About Author

Advertisement