नयाँ दिल्ली: ओलम्पिक काँस्य पदक विजेता तथा ६ पल्टकी वर्ल्ड च्याम्पियन भारतीय बक्सर एमसी मेरिकोमले बताएअनुसार, उनी पेशादार बक्सिंगमा ओर्लिन सक्छिन्। लण्डन ओलम्पिक २०१२-मा काँस्य पदक जितेर ओलम्पिकमा पदक जित्ने पहिलो भारतीय महिला बक्सर बन्ने ४३ वर्षीय मेरिकोमले अब अमेच्योर सर्किटमा खेल्ने उनको उमेर पार भइसकेको बताइन्। मेरिकोमले भनिन्, ६ पल्ट वर्ल्ड च्याम्पियनशीप जित्नु खास रह्यो। अब म यस उमेरमा देशको निम्ति अमेच्योर सर्किटमा खेल्न सक्दिन। पेशादार बक्सिंग एउटा नयाँ मौका हुनसक्छ। म अहिले यसबारे सोचिरहेकी छु। म के गर्न सक्नेछु भन्ने मानिसहरूलाई बताउन चाहन्छु अनि यसको निम्ति कठोर मेहनत गरिरहेकी छु। म निजी रूपले आफ्नो एकाडमीसँग पनि जोड़िएकी छु। म मणिपुर गइरहन्छु। राज्यको वर्तमान हालतहरूले गर्दा धेरैपल्ट जान सक्दिन तर त्यहाँ जान नसकेको समय पनि फोन मार्फत एकाडमीको कामकाजमाथि ध्यान राख्छु।









