पहाड क्षेत्रको विकास र अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता
दार्जिलिङ: दार्जिलिङ क्षेत्रका सांसद राजु बिष्टले दार्जिलिङ विधान सभा निर्वाचन समितिका सदस्यहरूसँग बैठक गरेका छन्। उक्त बैठकमा दार्जिलिङका पार्टी अध्यक्ष सञ्जीव लामा, दार्जिलिङका उम्मेदवार नोमन राई, कर्सियाङका उम्मेदवार सोनम लामा लगायत निर्वाचन व्यवस्थापन टोलीका सदस्यहरूको उपस्थिति रहेको थियो।
बैठकमा सांसद बिष्टले विगत १५ वर्षदेखि राज्य सरकारद्वारा पहाडी क्षेत्रका जनताका आधारभूत अधिकारहरू समेत सुनिश्चित गर्न नसकिएको आरोप लगाए। उनले चिया बगानका श्रमिक, सिन्कोना क्षेत्रका कामदार, वन गाउँका बासिन्दा तथा डि.आई. कोषको जमिनमा बसोबास गर्ने परिवारहरू अझै पनि परजा पट्टाको प्रतीक्षामा रहेको बताए। चिया बगानका श्रमिकहरूले अत्यन्त न्यून ज्यालामा काम गर्न बाध्य भएको र सडक, खानेपानी तथा आधारभूत पूर्वाधार कमजोर अवस्थामा रहेको उनले उल्लेख गरे।
सांसद बिष्टका अनुसार केन्द्रबाट पहाड क्षेत्रको विकासका लागि पठाइएको ठूलो रकम जनतासम्म नपुगेको गम्भीर आरोप समेत रहेको छ। उनले दार्जिलिङ नगरपालिकाले खानेपानी सेवा उपलब्ध गराउन असफल भएको उल्लेख गर्दै यसका लागि छुट्याइएको ठूलो रकमको उचित उपयोग नभएको दाबी गरे। साथै, घर–घरमा खानेपानी पुर्याउने योजनाअन्तर्गत प्राप्त अर्बौं रकम दुरुपयोग भएको र धेरै आयोजना अधुरै रहेको आरोप पनि लगाए।
यस्तै, युवाहरू रोजगारीको अभाव र भर्ना प्रक्रियामा अनियमितताका कारण गम्भीर समस्यामा परेको उल्लेख गर्दै उनले धेरै युवाहरू रोजगारीको खोजीमा बाहिरिन बाध्य भएको बताए। शिक्षा तथा स्वास्थ्य सेवा कमजोर बन्दै गएको र समाजमा विभाजन सिर्जना गरिएको पनि उनले आरोप लगाए।
सांसद बिष्टले जनताको पक्षमा पारदर्शी र उत्तरदायी शासन स्थापना गर्ने प्रतिबद्धता जनाउँदै परजा पट्टा मार्फत जमिनको अधिकार सुनिश्चित गर्ने, श्रमिकहरूको ज्याला सुधार गर्ने तथा सामाजिक सुरक्षा उपलब्ध गराउने योजना रहेको जानकारी दिए। उनले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने, पूर्वाधार विकास सुदृढ गर्ने तथा शिक्षा र स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउने लक्ष्य रहेको बताए।
उनले दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रलाई शिक्षा, अवसर र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, क्षेत्रको पहिचान र आकांक्षालाई सम्मान गर्ने संवैधानिक समाधानको पक्षमा आफूहरू रहेको स्पष्ट पारे।
अन्त्यमा सांसद बिष्टले दार्जिलिङ र कालिम्पोङका मतदाताहरूलाई दार्जिलिङबाट नोमन राई, कर्सियाङबाट सोनम लामा र कालिम्पोङबाट भरत क्षेत्रीलाई मतदान गरी विजयी गराउन अपिल गरे। उनले यसबाट क्षेत्रको उज्ज्वल भविष्य निर्माणमा थप ऊर्जा सहित काम गर्न सकिने विश्वास व्यक्त गरे।









