कोलकाता: भारतीय प्रौद्योगिकी संस्थान खड्गपुरले स्वास्थ्य सेवा क्षेत्रमा नवीनता, अनुसन्धान र प्राविधिक प्रगतिलाई बढावा दिने उद्देश्यले चारनोक अस्पतालसँग एक रणनीतिक सम्झौता गरेको छ। उक्त सम्झौतामा संस्थानका निर्देशक प्राध्यापक सुमन चक्रवर्ती र चारनोक अस्पतालका प्रबन्ध निर्देशक प्रशान्त शर्मा उपस्थितिमा हस्ताक्षर गरिएको थियो।
यस साझेदारीको मुख्य उद्देश्य उन्नत वैज्ञानिक अनुसन्धान र त्यसको व्यवहारिक चिकित्सीय प्रयोगबीचको दूरी कम गर्नु हो। यस अन्तर्गत संस्थानले आफ्ना शैक्षिक तथा अनुसन्धानबाट प्राप्त नतिजाहरू अस्पतालको चिकित्सीय वातावरणमा लागू गर्नेछ।
यो सहकार्य विभिन्न महत्वपूर्ण क्षेत्रमा केन्द्रित रहनेछ, जसमा उन्नत रोग पहिचान प्रविधिको परीक्षण तथा मानकीकरण, कृत्रिम बुद्धिमत्ता आधारित अनुसन्धानका लागि चिकित्सासम्बन्धी तथ्यांकको विश्लेषण, चिकित्सक तथा इन्जिनियरहरूका लागि संयुक्त तालिम कार्यक्रम तथा वास्तविक परिवेशमा प्रविधि विकासको गति बढाउने कार्यहरू समावेश छन्।
यस अवसरमा प्राध्यापक सुमन चक्रवर्तीले भने, यो साझेदारी वैज्ञानिक अनुसन्धानलाई चिकित्सकीय अभ्याससँग जोड्ने दिशामा एक महत्वपूर्ण कदम हो। उनले संस्थान समाजमा प्रत्यक्ष प्रभाव पार्ने प्रविधिको विकासप्रति प्रतिबद्ध रहेको र यस सहकार्यले बिरामी केन्द्रित स्वास्थ्य समाधान विकास गर्न सहयोग पुर्याउने बताए।
त्यसैगरी, चारनोक अस्पतालका प्रबन्ध निर्देशक प्रशान्त शर्माले यस प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउनु गर्वको विषय भएको बताए। उनले यो सहकार्य गुणस्तरीय तथा अनुसन्धान आधारित स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाउने उल्लेख गरे। साथै, दुवै संस्थाको संयुक्त दक्षताबाट भविष्यमा अझ प्रभावकारी स्वास्थ्य समाधान विकास हुने विश्वास व्यक्त गरे।
भारतीय प्रौद्योगिकी संस्थान खड्गपुर देशको एक प्रमुख शैक्षिक तथा अनुसन्धान संस्थान हो, जसको स्थापना सन् १९५१ मा प्राविधिक शिक्षाको प्रवर्द्धनका लागि गरिएको थियो। अर्कोतर्फ, चारनोक अस्पताल कोलकाताको तेघरिया क्षेत्रमा अवस्थित एक प्रमुख बहुविशेषज्ञ स्वास्थ्य संस्था हो, जसले उच्चस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ।










