दुबई: पश्चिम एसियामा जारी द्वन्द्व झन् चर्किँदै गएको छ। मंगलबार इरानले इजरायल तथा खाडीका विभिन्न अरब देशहरूलाई लक्षित गर्दै लगातार आक्रमण गरेको छ। यसक्रममा एउटा शक्तिशाली मिसाइल तेल अवीभको मध्यभागस्थित सडकमा खस्दा क्षेत्रमा त्रास फैलिएको छ।
करिब १०० किलोग्राम विस्फोटक बोकेको उक्त मिसाइल इजरायली रक्षा प्रणाली पार गर्दै सहरको केन्द्रमा खसेको बताइएको छ। विस्फोटपछि वरपरका भवनका झ्यालहरू फुटेका छन् र धुवाँ फैलिएको छ। उद्धारकर्मीका अनुसार घटनामा चार जना सामान्य घाइते भएका छन्।
स्थानीय बासिन्दाले घटनापछि भय र असुरक्षाको अवस्था सिर्जना भएको बताएका छन्। एक प्रत्यक्षदर्शीले जुनसुकै बेला जहाँसुकै मिसाइल खस्न सक्ने डर रहेको बताए।
यसअघि इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा बमबारी गरेको थियो। इजरायलले इरान समर्थित हिजबुल्लाह समूहका संरचनालाई निशाना बनाएको दाबी गरेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ।
यता साउदी अरेबियाले आफ्नो तेलसम्पन्न पूर्वी क्षेत्रमा लक्षित १९ वटा इरानी ड्रोन खसालेको जनाएको छ भने बहरीनमा मिसाइल सतर्कता साइरन बजाइएको थियो। कुवेतमा पनि आक्रमणका कारण विद्युत आपूर्ति प्रभावित भएको छ।
यसबीच डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खोल्न इरानलाई दिएको समयसीमा पाँच दिन थप गरेका छन्। तर इरानले अमेरिका, इजरायल तथा तिनका सहयोगी देशसँग सम्बन्धित जहाजलाई लक्षित आक्रमण जारी राख्ने चेतावनी दिएको छ।
इरानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म यस द्वन्द्वमा १,५०० भन्दा बढी मानिसको ज्यान गएको छ। इजरायलमा १५ जनाको मृत्यु भएको छ भने १३ अमेरिकी सैनिकको पनि ज्यान गएको बताइएको छ।








