दुबई: इजरायलले गरेको आक्रमणमा ईरानका दुई उच्च सुरक्षा अधिकारी अली लारिजानी र जनरल गुलाम रजा सुलेमानी मारिएका छन्। यी दुवै व्यक्तिलाई इरानको शक्ति संरचनाका महत्वपूर्ण स्तम्भका रूपमा लिइन्थ्यो।
ईरानकाे सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव रहेका लारिजानी देशका सबैभन्दा प्रभावशाली व्यक्तिमध्ये एक थिए भने सुलेमानी ‘रिभोल्युसनरी गार्ड’ अन्तर्गतको स्वयंसेवी ‘बासिज’ बलका प्रमुख थिए। ईरानले उनीहरूको मृत्यु पुष्टि गरेको छ।
घटनापछि ईरानले बुधबार इजरायल र खाडी क्षेत्रका केही देशहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ। इजरायलको मध्य क्षेत्रमा साइरन बजेको तथा तेल अवीवमा विस्फोटको आवाज सुनिएको बताइएको छ। आपतकालीन सेवाका अनुसार तेल अवीव नजिकको रमात गान क्षेत्रमा दुई जनाको मृत्यु भएको छ।
ईरानले सऊदी अरब, कुवेत लगायतका खाडी देशतर्फ पनि ड्रोन तथा मिसाइल प्रहार गरेको बताइएको छ। यद्यपि ती आक्रमणहरू अधिकांश हवाई सुरक्षा प्रणालीद्वारा निष्क्रिय पारिएको जनाइएको छ।
इजरायलले भने यी आक्रमणहरू ईरानको शासन संरचना कमजोर पार्ने उद्देश्यले गरिएको दाबी गरेको छ। इजरायली रक्षा मन्त्रीले दुवै अधिकारीलाई लक्षित गरी आक्रमण गरिएको पुष्टि गरेका छन्। साथै तेहरानमा ‘बासिज’ बलका १० भन्दा बढी ठेगानामा आक्रमण गरिएको जनाइएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यस कदमको उद्देश्य ईरानी शासनलाई कमजोर बनाउनु रहेको बताएका छन्। यद्यपि युद्ध सुरु भएयता इरानमा सरकारविरुद्ध कुनै ठूलो विरोध प्रदर्शन देखिएको छैन।
यस घटनापछि विश्व ऊर्जा बजारमा चिन्ता बढेको छ। इरानले तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण कमजोर नपार्ने स्पष्ट पारेको छ। उक्त जलमार्गबाट विश्वको करिब पाँचौं भाग तेल आपूर्ति हुने गर्दछ।








