दार्जिलिङ: राज्यमा चुनावको घोषणा भएपछि अनित थापाको पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) ले पहाडका तीन विधानसभा क्षेत्रका लागि उम्मेदवार घोषणा गरेको छ। उम्मेदवारहरूको सूची पार्टीले आइतबार राति सार्वजनिक गरेको हो।
अनित थापाले यसअघि नै आफ्नो पार्टीले पहाडी क्षेत्रमा विधानसभा चुनाव एक्लै लड्ने स्पष्ट गरिसकेका छन्। कालिम्पोङ विधानसभा क्षेत्रबाट रुधेन सादा लेप्चालाई उम्मेदवार बनाइएको छ। उनले सन् २०२१ मा यो सिट जितेका थिए र विधायक बनेका थिए। दार्जिलिङ विधानसभा क्षेत्रबाट बिजय कुमार राईलाई उम्मेदवार घोषणा गरिएको छ भने कर्सियाङ विधानसभा क्षेत्रबाट अमर लामालाई उम्मेदवार बनाइएको छ।
बिजय कुमार राई विद्यालयका शिक्षक हुन् र पहाडका विभिन्न सामाजिक संस्थासँग पनि आबद्ध छन्। उता अमर लामा भागोप्रमोका सचिव हुन् र यसअघि दार्जिलिङमा पार्षदका रूपमा पनि काम गरिसकेका छन्।
उम्मेदवारहरूको घोषणा भएपछि जीटीएका मुख्य कार्यकारी तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले क्षेत्रीय पार्टीलाई अझ सुदृढ बनाउने आह्वान गरेका छन्। पार्टीले उम्मेदवारहरूको समर्थनमा सामाजिक सञ्जालमार्फत प्रचार अभियान पनि सुरु गरिसकेको छ। पार्टी नेताहरूले सोमबारदेखि पहाडका विभिन्न स्थानमा सडकमा उत्रेर प्रचार अभियान सञ्चालन गरिने बताएका छन्।








