गोरखा: मनकामना मन्दिरको दर्शन गरेर फर्किंदै गरेको भारतीय पर्यटक सवार इलेक्ट्रिक (ईभी) माइक्रो बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ।
स्थानीय उद्धारकर्ताहरूले घटनास्थलबाट ७ जनाको शव निकालिएको बताएका छन्। तर अधिकारीहरूले मृतक संख्या आधिकारिक रूपमा पुष्टि गर्न बाँकी रहेको जानकारी दिएका छन्।
दुर्घटना शहीदलखन गाउँपालिका–३, कनटारमा भएको हो। बागमती प्रदेश ०१–००६ ख ८४३० नम्बरको उक्त माइक्रो बस सडकबाट तल खसेको पुलिसले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटकहरू सवार थिए।

घटनास्थलमा जिल्ला पुलिस कार्यालय गोरखा र स्थानीय प्रहरी टोलीसहित स्थानीय बासिन्दाहरू उद्धार कार्यमा सक्रिय छन्। घाइतेहरूलाई उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाइँदैछ।
पुलिसले बताएअनुसार दुर्घटनाको विस्तृत विवरण र क्षतिको पूर्ण जानकारी आउन अझै समय लाग्नेछ।









