होटल, रेस्टुरेन्ट तथा क्याटरिङ क्षेत्रमा २ हजार करोड रुपैयाँ कारोबार गर्ने लक्ष्य
नयाँ दिल्ली: करिब ३० हजार करोड रुपैयाँको इमामी समूहअन्तर्गतको इमामी एग्रोटेकले होटल, रेस्टुरेन्ट तथा क्याटरिङ (होरेका) र व्यवसायिक खाद्य सेवा क्षेत्रलाई लक्षित गर्दै “हेल्दी एण्ड टेस्टी – फोर सेफ” नामक नयाँ उत्पादन दायरा सार्वजनिक गरेको छ। उक्त उत्पादनहरू नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय खाद्य तथा आतिथ्य मेला ‘आहार २०२६’ का अवसरमा सार्वजनिक गरिएको हो।
होरेका तथा खाद्य सेवा साझेदारहरूका लागि विशेष रूपमा तयार पारिएको यस नयाँ दायरालाई व्यावसायिक भान्सामा आवश्यक उच्च गुणस्तर, स्थिरता तथा उत्कृष्ट प्रदर्शनलाई ध्यानमा राखेर विकास गरिएको कम्पनीले जनाएको छ।
कम्पनीको प्रमुख ब्रान्ड ‘हेल्दी एण्ड टेस्टी’ अन्तर्गत ल्याइएको “फोर सेफ” दायरामा विभिन्न प्रकारका खाने तेलका साथै सम्पूर्ण मसला, शुद्ध तथा मिश्रित मसला, ताजा चक्की आटा, मैदा, सूजी, बेसन र सोया चङ्क्स जस्ता अत्यावश्यक भान्सा सामग्रीहरू समावेश छन्। यी उत्पादनहरू व्यावसायिक भान्सा तथा संस्थागत उपभोगलाई ध्यानमा राख्दै ठूलो प्याकेजिङमा उपलब्ध गराइने बताइएको छ।
कम्पनीले आगामी केही महिनाभित्र “फोर सेफ” दायरालाई अझ विस्तार गर्दै सस, कन्डिमेन्ट, पकाउन तयार तथा खान तयार उत्पादनहरू समेत बजारमा ल्याउने योजना बनाएको छ।
यस पहलमार्फत इमामी एग्रोटेकले होरेका तथा संस्थागत क्षेत्र—जसलाई तीव्र गतिमा विस्तार भइरहेको ठूलो उपभोग बजार मानिन्छ—मा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन खोजेको छ। कम्पनीले आगामी दुईदेखि तीन वर्षभित्र यस क्षेत्रबाट २ हजार करोड रुपैयाँ कारोबार गर्ने लक्ष्य राखेको जनाएको छ।
कम्पनीका निर्देशक जयन्त गोएङ्काले नयाँ दायराको सार्वजनिकबारे टिप्पणी गर्दै भने, “होरेका क्षेत्र ठूलो र तीव्र गतिमा विस्तार भइरहेको उपभोग प्रणाली हो, जहाँ उल्लेखनीय व्यापारिक सम्भावना रहेको छ। ‘हेल्दी एण्ड टेस्टी – फोर सेफ’ दायराको सुरुवातसँगै हामी खुद्रा बजारभन्दा बाहिर पनि आफ्नो ध्यान केन्द्रित गर्दैछौँ। उच्च प्रदर्शन गर्ने खाने तेलदेखि ताजा चक्की आटा, मैदा र मसला जस्ता आवश्यक सामग्रीसम्मको हाम्रो उत्पादन पोर्टफोलियोले सेफहरू तथा खाद्य सेवा साझेदारहरूलाई ठूलो स्तरमा उत्कृष्टता प्रदान गर्न सहयोग गर्नेछ।”
कम्पनीले यस रणनीतिक व्यवसायलाई अघि बढाउन २७ वर्षभन्दा बढी अनुभव भएकी सामन्था दत्तालाई वरिष्ठ उपाध्यक्ष (खाद्य सेवा, द्रुत सेवा रेस्टुरेन्ट, आधुनिक व्यापार तथा वैकल्पिक च्यानल) का रूपमा नियुक्त गरेको छ।
दत्ताले भनिन्, “हाम्रो ‘फोर सेफ’ उत्पादन दायराले व्यावसायिक भान्सालाई उच्च गुणस्तरका साथै बदलिँदो ग्राहक आवश्यकतासँग मेल खाने उत्पादनहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। हाम्रो लक्ष्य सञ्चालन दक्षता बढाउने, मेनुमा नवप्रवर्तनलाई सहयोग गर्ने र अन्ततः हाम्रा साझेदारहरूको व्यवसायिक वृद्धि सुनिश्चित गर्ने समाधान उपलब्ध गराउनु हो।
यसैबीच, कम्पनीले तीव्र वृद्धि हासिल गर्न मार्गदर्शन प्रदान गर्न विकास मित्तललाई रणनीतिक व्यवसायिक सल्लाहकारका रूपमा नियुक्त गरेको छ। मित्तल यसअघि म्याककेन फुड्स इण्डिया, दक्षिणपूर्व एशिया, कोरिया तथा ताइवानका प्रबन्ध निर्देशक रहिसकेका छन्।









