मिडिल ईस्ट युद्धपछि क्रिप्टो बजारमा हलचल

IMG-20260304-WA0027

नयाँ दिल्ली: अमेरिका र इजरायलको सैन्य आक्रमणपछि इरानका क्रिप्टो एक्सचेन्जबाट ठूलो रकम बाहिरियो।
शनिबारदेखि सोमबारसम्म इरानी एक्सचेन्जबाट १ करोड ३ लाख डलर बराबरको डिजिटल सम्पत्ति बाहिरिएको हो।
विश्लेषकहरूले यसलाई युद्धको जोखिमका कारण पूँजी पलायन वा सम्पत्ति सुरक्षित गर्ने प्रयासको रूपमा हेरेका छन्।
इरानमाथि अमेरिका र इजरायलले गरेको पछिल्लो सैन्य आक्रमणपछि त्यहाँका क्रिप्टोकरेन्सी एक्सचेन्जहरूबाट ठुलो परिमाणमा डलर बाहिरिएको प्रतिवेदन सार्वजनिक भएको छ।
ब्लकचेन एनालिटिक्स संस्था इलिप्टिकलगायतका अनुसार शनिबारदेखि सोमबारको बीचमा मात्रै इरानी एक्सचेन्जहरूबाट करिब १ करोड ३ लाख डलर बराबरको डिजिटल सम्पत्ति बाहिरिएको हो।
आक्रमण सुरु भएको केही घण्टाभित्रै कोष बाहिरिने क्रममा निकै तीव्रता देखिएको थियो। बेलायती अनुसन्धान संस्था इलिप्टिकले इरानको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज नोबिटेक्सबाट हुने कोष निष्कासनमा अघिल्लो दिनको तुलनामा आठ गुणाले वृद्धि भएको जनाएको छ।
विश्लेषकहरूले यसलाई बढ्दो युद्धको जोखिमका कारण सर्वसाधारणले आफ्नो सम्पत्ति सुरक्षित गर्न खोजेको वा पूँजी पलायनको संकेतका रूपमा लिएका छन्। कतिपय अवस्थामा एक्सचेन्जहरूले सुरक्षाका कारण आफ्नो तरलता व्यवस्थापन गर्न खोज्दा पनि यस्तो तथ्याङ्क देखिएको हुन सक्ने अनुमान गरिएको छ।
इरानमा आर्थिक नाकाबन्दी र भू-राजनीतिक अस्थिरताका बीच डिजिटल मुद्राको प्रयोग पछिल्लो समय ह्वात्तै बढेको छ। सन् २०२५ मा मात्रै त्यहाँ ८ देखि ११ अर्ब डलर बराबरको क्रिप्टो कारोबार भएको अनुमान गरिएको छ।
यति ठूलो परिमाणमा रकम बाहिरिनुले युद्ध र संकटको समयमा डिजिटल सम्पत्तिको भूमिकालाई प्रस्ट पारेको रोयटर्सले समाचारमा उल्लेख गरेको छ ।

About Author

Advertisement