काठमाडौं: मिडिल ईस्टमा चुलिँदै गएको द्वन्द्वले नेपाली अर्थतन्त्रमा प्रत्यक्ष र अप्रत्यक्ष असर पार्ने चिन्ता बढेको छ। यस क्षेत्रमा १७ लाखभन्दा बढी नेपाली रोजगारीमा रहेकाले श्रम, रेमिट्यान्स, वैदेशिक मुद्रा र पर्यटनमा प्रभाव पर्ने विज्ञहरूको आकलन छ।
संयुक्त अरब अमीरातको रक्षा मन्त्रालयका अनुसार हालैको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। यस घटनाले क्षेत्रीय अस्थिरता र नेपाली कामदारको सुरक्षाबारे चिन्ता थप बढाएको छ।
रेमिट्यान्समा गिरावटको जोखिम
आयातमा निर्भर र वैदेशिक रोजगारीमा आधारित अर्थतन्त्र भएकाले खाडी क्षेत्रमा तनाव बढेमा नेपाल प्रत्यक्ष प्रभावित हुने अर्थशास्त्रीहरूको भनाइ छ। नेपाल राष्ट्र बैंकको २०२५ प्रतिवेदनअनुसार विदेशमा कार्यरत ५८.९ प्रतिशत नेपाली कामदार साउदी अरेबिया, यूएई, कतारलगायत खाडी मुलुकमा छन्।
अर्थशास्त्री डा. केशव आचार्यका अनुसार नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा २५ प्रतिशतभन्दा बढी हिस्सा रेमिट्यान्सको छ। गत आर्थिक वर्ष नेपालले १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको थियो। “यदि युद्ध लम्बियो र रेमिट्यान्स ५ प्रतिशत मात्र घट्यो भने पनि अर्थतन्त्र नकारात्मक वृद्धितर्फ धकेलिन सक्छ,” उनले चेतावनी दिए।
श्रम विज्ञ डा. गणेश गुरुङले पनि उद्योग–व्यवसाय अवरुद्ध हुँदा आम्दानीका स्रोत घट्ने र दैनिक रेमिट्यान्स प्रभावित हुने बताए। दूतावासहरूले नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिरहेका बेला उत्पादन र सेवा क्षेत्रमा असर देखिन थालेको उनको भनाइ छ।
श्रम स्वीकृति अस्थायी निलम्बन
मिडिल ईस्ट अवस्थालाई ध्यानमा राख्दै सरकारले साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायललगायत १२ देशमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति अस्थायी रूपमा निलम्बन गरेको छ।
तेल मूल्य र मुद्रास्फीतिको दबाब
खाडी क्षेत्र विश्वको प्रमुख तेल भण्डार भएकाले द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम आपूर्ति अवरुद्ध हुन सक्ने चिन्ता छ। डा. आचार्यका अनुसार आपूर्ति–माग असन्तुलनले तेलको मूल्य बढाउँछ, जसले ढुवानी लागत र उपभोग्य वस्तुको मूल्य बढाएर मुद्रास्फीति निम्त्याउँछ।
नेपाल राष्ट्र बैंकका तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जनवरीसम्म विदेशी मुद्रा सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ छ। तर रेमिट्यान्स घट्ने र आयात खर्च बढ्ने अवस्था आए विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न सक्ने विश्लेषण छ।
पर्यटन र हवाई उडानमा असर
पर्यटन क्षेत्रमा पनि असर पर्ने देखिन्छ। मिडिल ईस्ट अरु मुलुकहरूबाट नेपाल आउने पर्यटक र विदेश जाने नेपालीका लागि प्रमुख ट्रान्जिट केन्द्र हुन्। कतार एयरवेज, टर्किस एयरलाइन्स, फ्लाई दुबई, ओमान एयर, एयर अरेबिया र एमिरेट्सजस्ता वायुसेवाहरू मार्फत धेरै यात्रु आवतजावत गर्छन्।
नागरिक उड्डयन क्षेत्रका पूर्व अधिकारीहरूका अनुसार विमानस्थलहरू आंशिक वा पूर्ण रूपमा प्रभावित भए ट्रान्जिट रुटमा उडान कटौती हुन सक्छ, जसले हवाई भाडा महँगो बनाउने र पर्यटक आगमन घटाउने सम्भावना छ।
विज्ञहरूका अनुसार यदि द्वन्द्व लामो समयसम्म जारी रह्यो भने रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति, आयात खर्च र पर्यटन सबै क्षेत्रमा चाप बढ्दै जानेछ, जसले नेपालको समग्र अर्थतन्त्रलाई जटिल अवस्थामा पुर्याउन सक्छ।








