कोलकाता: सी वी आनन्द बोस पश्चिम बंगालका मतदाता बनेका छन्। उनले केरला राज्यबाट पश्चिम बंगालको मतदाता नामावलीमा आफ्नो नाम स्थानान्तरण गराएका हुन्। यो प्रक्रिया विशेष संक्षिप्त पुनरावलोकन (एसआईआर) अन्तर्गत हालै सम्पन्न भएको जनाइएको छ।
शुक्रबार लोकभवनबाट जारी आधिकारिक विज्ञप्तिमा राज्यपालले आफ्नो ईपीआईसी १६२ चौरंगी विधानसभा निर्वाचन क्षेत्रअन्तर्गत भाग ३८ मा स्थानान्तरण भएकोमा सन्तोष व्यक्त गरेको उल्लेख छ। राज्यमा छिट्टै विधानसभा निर्वाचन घोषणा हुने अपेक्षा गरिएको छ।
राज्यपालले पहिलोपटक पश्चिम बंगालमै आफ्नो मताधिकार प्रयोग गर्न पाउनेमा उत्सुकता व्यक्त गरेका छन्। साथै उनले नागरिकहरूलाई पनि निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “राज्यपाल राज्यभरिका दाजुभाइ तथा दिदीबहिनीहरूसँगै मतदान गर्न उत्सुक हुनुहुन्छ। उहाँले सबैलाई मतदान गरी लोकतन्त्रलाई सुदृढ बनाउन आग्रह गर्नुभएको छ।”
उल्लेखनीय छ कि जगदीप धनखड़ पनि पश्चिम बंगालका राज्यपाल रहँदा यही राज्यका मतदाता थिए। अहिले डा. बोसले चौरंगी विधानसभा क्षेत्रअन्तर्गत मतदाता सूचीमा नाम स्थानान्तरण गराएका हुन्।









