तुर्किएको एफ-१६ लडाकु विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

f-16-crash-in-turkey

अंकारा: तुर्किये को वायु सेनाको एफ-१६ लडाकु विमान मंगलबार र बुधबारको मध्यरातमा पश्चिमी तुर्कियेमा एक राजमार्ग नजिक दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा पाइलटको मृत्यु भएको पुष्टि गरिएको छ।
रक्षा मन्त्रालयका अनुसार बालिकेसिर प्रान्तस्थित ९औँ मुख्य जेट बेसबाट उडान भरेको केही समयमै मध्यराततिर विमानसँगको रेडियो र रडार सम्पर्क टुटेको थियो। त्यसपछि तुरुन्तै खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो।
खोजी अभियानका क्रममा विमानको भग्नावशेष फेला परेको मन्त्रालयले जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार विमान इस्तानबुल-इज्मिर राजमार्ग नजिक खसेको थियो र यसको टुक्रा ठूलो क्षेत्रमा छरिएको थियो।
घटनास्थलमा सुरक्षा निकाय, दमकल तथा चिकित्सकीय टोली परिचालन गरिएको थियो। रक्षा मन्त्रालयले दुर्घटनाको कारण तत्काल खुल्न नसकेको बताउँदै विस्तृत छानबिनका लागि अनुसन्धान समिति गठन गरिने जनाएको छ।
एफ-१६ लडाकु विमान तुर्किये वायु सेनाको मुख्य युद्धक विमानमध्ये एक मानिन्छ। दुर्घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्र स्पष्ट हुने बताइएको छ।

About Author

Advertisement