वीरगन्जमा अनिश्चितकालीन कर्फ्यू, साम्प्रदायिक तनाव फैलिन नदिन सेना परिचालन

303ebe80-1081-11f1-bdef-0dbbc02c6c27.jpg

वीरगन्ज: नेपाल–भारत सीमासँग जोडिएको वीरगन्जमा सम्भावित साम्प्रदायिक तनावलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सोमबार बिहान ९:४५ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार अर्को सूचना जारी नभएसम्म तोकिएको क्षेत्रभित्र आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ। पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटलाई चार किल्ला तोकिएको छ।
‘नितान्त व्यक्तिगत’ विवादबाट तनाव
जिल्ला पुलिस कार्यालय पर्साका प्रवक्ता पुलिस नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार एउटै टोलमा फरक धर्म र संस्कृतिका युवाबीच पार्किङको विषयमा सुरु भएको विवादले ठूलो रूप लिन खोजेपछि कर्फ्यू लगाइएको हो।
“बीचमा स्थिति अलिकति बिग्रन खोज्यो। विभिन्न स्वार्थ समूहले अवस्थालाई साम्प्रदायिकतर्फ मोड्न सक्ने संकेत पाएपछि तत्कालै कर्फ्यू जारी गरेका हौँ,” उनले भने। हालसम्म एक जनालाई नियन्त्रणमा लिइएको भए पनि उनी कुन पक्षका हुन् भन्ने खुलाइएको छैन।
सेना र सशस्त्र पुलिस परिचालन
कर्फ्यू लागू भएसँगै नेपाली सेना र नेपाल पुलिसका टोलीहरू सडकमा परिचालित छन्। सुरक्षाकर्मीहरूले सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन दिएका छन् भने कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन तथा भेला निषेध गरिएको छ।
गृह मन्त्रालय स्रोतका अनुसार केन्द्रबाट प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीलाई मधेश प्रदेशमा खटाइएको छ। सुरक्षा निकायले अफवाहमा नलाग्न र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेका छन्। अत्यावश्यक तथा स्वास्थ्य सेवामा भने सहजीकरण गरिने जनाइएको छ।
रौतहटमा कर्फ्यू हटाइयो
यसैबीच गौरस्थित सबगढा गाउँमा बिहीबारदेखि उत्पन्न विवादका कारण लगाइएको कर्फ्यू सोमबार बिहान हटाइएको छ। मस्जिद नजिक विवाह जुलुसले बाजा बजाएको विषयमा सुरु भएको विवाद झडप र आगजनीमा परिणत भएपछि प्रशासनले कर्फ्यू लगाएको थियो।
जिल्ला पुलिस कार्यालय रौतहटका अनुसार एक पूर्व वडाध्यक्षसहित २३ जनालाई पक्राउ गरिएको छ। स्थानीय तहमा सहमति भएपछि झन्डै २,००० जनाको सहभागितामा सद्भाव र्‍याली निकालिएको थियो।
असर फैलिन नदिन सतर्कता
अधिकारीहरूले पछिल्लो घटनाले अन्य क्षेत्रमा पनि प्रभाव पार्न सक्ने भन्दै सतर्कता बढाइएको बताएका छन्। वीरगन्जमा अहिले अवस्था नियन्त्रणमा रहेको दाबी गरिए पनि सुरक्षा उपस्थिति व्यापक राखिएको छ।
प्रशासनले स्थानीयवासीलाई शान्ति र सद्भाव कायम राख्न तथा कुनै पनि उक्साहटपूर्ण गतिविधिबाट टाढा रहन आह्वान गरेको छ।

About Author

Advertisement