ओदलाबारी: आज आइतबारका दिन स्थानीय गोर्खा भवन, ओदलाबारीमा आदिवासी गोर्खा संयुक्त संघर्ष समिति (आगोसस) र कामतापुर स्टेटहुड डिमान्ड कमिटि (के.एस.डि.सि.) को तेस्रो चरणको संयुक्त सभा भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो।
सभामा दुवै संगठनका केन्द्रीय, राज्य, जिल्ला तथा ब्लक तहका प्रतिनिधिहरू, सामाजिक अगुवाहरू, युवावर्ग तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आजको सभामा कामतापुर स्टेटहुड डिमान्ड कमिटि (के.एस.डि.सि.) का केन्द्रीय समितिका महासचिव श्री देबेन्द्र नाथ राय तथा उहाँसँगै राज्य समिति, जिल्ला समिति र माल ब्लकका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।
उहाँहरूले कामतापुर आन्दोलनको वर्तमान अवस्था, संगठन विस्तार तथा आगामी रणनीतिबारे आफ्नो धारणा राख्दै संयुक्त सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, आगोससको तर्फबाट भूतपूर्व संस्थापक अध्यक्ष श्री सघन मोक्तान, वर्तमान सभापति श्री प्रदीप कुमार मोक्तान, श्री गणेश राई, श्री मनीष तामाङ, श्री अर्जुन छेत्री, श्री डि. के. विश्वकर्मा, श्री कैलाश महाराज, सुश्री रुपा राई, श्री बचन राणा, सुश्री अमृता राई तथा श्री जितेन छेत्रीको उपस्थिति रहेको थियो।
आगोससका प्रतिनिधिहरूले संगठनको विगतदेखि हालसम्मको संघर्ष, उपलब्धि तथा भावी कार्यदिशाबारे विस्तृत धारणा प्रस्तुत गर्नुभएको थियो।
स्मरण रहोस्, आगोसस र के.एस.डि.सि. बीचको संयुक्त पहल अन्तर्गत आयोजना गरिएको यो तेस्रो चरणको बैठक हो, जसको मूल उद्देश्य आपसी समन्वयलाई सुदृढ बनाउनु, साझा मुद्दाहरूमा एकमत कायम गर्नु तथा क्षेत्रीय सामाजिक–राजनीतिक सरोकारहरूलाई संस्थागत ढंगले अघि बढाउनु रहेको छ।
सभामा क्षेत्रीय पहिचान, सामाजिक न्याय, युवा सशक्तीकरण, आर्थिक विकास, शिक्षा, रोजगारीका अवसर तथा स्थानीय अधिकारका विषयमा गहन छलफल भएको थियो। दुवै पक्षले साझा लक्ष्य प्राप्तिका लागि एकताबद्ध रूपमा अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
सभाले संयुक्त रूपमा निर्णय गरेको छ कि आगामी दिनहरूमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रमहरू पूर्णतः संवैधानिक, अहिंसात्मक तथा शान्तिपूर्ण हुनेछन्। कुनै पनि कार्यक्रम सरकारविरुद्ध नभई, लोकतान्त्रिक प्रणालीभित्र रही जनहित, सामाजिक न्याय तथा क्षेत्रीय विकासका मुद्दाहरूलाई रचनात्मक र शिष्ट ढंगले प्रस्तुत गर्ने उद्देश्यले गरिनेछ।
अन्त्यमा, यस तेस्रो चरणको संयुक्त सभाले क्षेत्रीय एकता, आपसी विश्वास तथा लोकतान्त्रिक अभ्यासको सशक्त सन्देश दिएको ठहर गर्दै आगामी दिनहरूमा अझ संगठित, योजनाबद्ध र प्रभावकारी रूपमा अघि बढ्ने संकल्प व्यक्त गरेको छ।









