मुम्बई: ‘लाटिन संगीतकी रानी’का रूपमा परिचित शाकिरा केवल गायनमै होइन, नृत्यमा पनि उत्तिकै दक्ष मानिन्छिन्। उनी मञ्चमा उत्रिँदा वातावरण नै अलग ऊर्जा र लयले भरिन्छ। अब फेरि एकपटक भारतका उनका प्रशंसकले उनलाई प्रत्यक्ष मञ्चमा देख्न पाउने भएका छन्। १९ वर्षपछि शाकिरा भारतमा प्रस्तुति दिन आउँदैछिन्।
सन् २००५ मा शाकिराको लोकप्रिय पप गीत ‘हिप्स डोंट लाइ’ सार्वजनिक भएको थियो। सार्वजनिक हुनासाथ उक्त गीत अत्यन्तै लोकप्रिय बन्यो र अन्तर्राष्ट्रिय स्तरमै व्यापक प्रशंसा बटुल्यो। गीतसँगै सार्वजनिक गरिएको दृश्य सामग्रीमा शाकिराको आकर्षक नृत्य पनि देख्न पाइन्थ्यो। ‘हिप शेकिङ’को आफ्नै विशेष शैलीमार्फत उनले दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिइन्।
यसपटक अप्रिल महिनामा कलाकारले मुम्बई र दिल्लीमा प्रस्तुति दिनेछिन्। यसअघि सन् २००७ मा ‘ओरल फिक्सेसन टुर’का क्रममा उनी भारत आएकी थिइन्, तर त्यतिबेला उनले केवल मुम्बईमै कार्यक्रम गरेकी थिइन्। यसपटक मुम्बईको महालक्ष्मी रेसकोर्स मैदान र दिल्लीको जवाहरलाल नेहरू रंगशालामा उनको कार्यक्रम आयोजना गरिनेछ। टिकट बुकिङ १ मार्चदेखि सुरु हुनेछ, यद्यपि टिकटको मूल्यबारे आयोजकले हालसम्म कुनै जानकारी दिएका छैनन्।
पछिल्ला केही वर्षमा एड शीरन, दुआ लिपा, एनरिके, लिंकिङ पार्क र मरुन ५ जस्ता अन्तर्राष्ट्रिय कलाकार तथा ब्याण्डहरूले भारतमा प्रस्तुति दिइसकेका छन्। तर एसिया महादेशमा शाकिराको लोकप्रियता यी कलाकारहरूको तुलनामा अझै व्यापक मानिन्छ। त्यसैले उनको कार्यक्रमको आयोजना र सुरक्षा व्यवस्थासम्म कति कडा हुनेछ, त्यो भने समयले नै देखाउनेछ।










