पाकिस्तानमा ग्यास चुहावटबाट विस्फोट, ९ बालबालिकासहित १६ जनाको मृत्यु

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 55?

कराची: पाकिस्तानको कराची मा बिहीबार बिहान एक आवासीय भवनमा ग्यास चुहावटका कारण भएको विस्फोटमा महिला र बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्।
प्रहरी अधिकारी जमशेद अशरले भने, “बिहान साढे चार बजे भवनको पहिलो तलामा विस्फोट भयो। यो भवन ओल्ड सोल्जर बजार क्षेत्रमा अवस्थित छ। घटना सेहरीको समयमा भएको हो।” पाकिस्तानमा आज रमजान महिनाको पहिलो दिन हो। उनले विस्फोटको सम्भावित कारण ग्यास चुहावट रहेको बताए।
कराचीमा ग्यास अभावका कारण विशेषगरी न्यून आय भएका आवासीय क्षेत्रमा धेरै परिवारले घरमा तरलीकृत पेट्रोलियम ग्यास सिलिन्डर प्रयोग गर्ने गरेका छन्। प्रहरी शल्यचिकित्सक डा. समैया सैयदले विस्फोट स्थलबाट हालसम्म १४ शव प्राप्त भएको पुष्टि गरिन् भने १४ घाइतेको उपचार भइरहेको जानकारी दिइन्। भवनको जीर्ण अवस्थाका कारण विस्फोटपछि यसको एक भाग भत्किएको थियो।
मुख्य दमकल अधिकारी हुमायूँ खानले भने, “हामी अझै भग्नावशेषमा खोजी कार्य गरिरहेका छौँ, थप शव वा जीवित व्यक्ति दबिएको छ कि छैन भन्ने पत्ता लगाउन।” मृतकमध्ये कम्तीमा नौ जना बालबालिका रहेका छन्, जसको उमेर दुईदेखि १७ वर्षबीच थियो। घाइतेहरूमध्ये पनि सात जना बालबालिका छन्।
कराचीमा यो पछिल्लो समयको दोस्रो ठूलो विस्फोट घटना हो। गत महिना सदर क्षेत्रमा रहेको थोक तथा खुद्रा बजार ‘गुल शपिङ प्लाजा’ को भुइँतलामा आगलागी हुँदा कम्तीमा ७९ जनाको मृत्यु भएको थियो र धेरै अन्य घाइते भएका थिए।

About Author

Advertisement