बिर्तामोड(नेपाल): विदेशी स्ट्राइकर जोनाथन जोरिल्लाको उत्कृष्ट ह्याट्रिकको मद्दतमा मछिन्द्र फुटबल क्लबले चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
मछिन्द्रले अब उपाधिका लागि एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
खेलको चौथो मिनेटमा अयोला हमजातको क्रसमा जोरिल्लाले वान–टच प्रहारमार्फत टोलीलाई अग्रता दिलाएका थिए। २४औँ मिनेटमा डिबक्सभित्र ह्यान्डबल भएपछि प्राप्त पेनाल्टीलाई समेत जोरिल्लाले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाए।
दोस्रो हाफमा पनि मछिन्द्रले खेलमा पकड कायम राख्यो। ५२औँ मिनेटमा प्रदीप बुढाथोकीको पासमा जोरिल्लाले तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे। अतिरिक्त समयमा विकल्प खेलाडी रेजिन सुब्बाले व्यक्तिगत प्रयासमा थप एक गोल गर्दै जित सुनिश्चित गरे।
जोरिल्ला खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ तथा उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। फाइनल खेल फागुन ४ गते (फेब्रुअरी १६) हुनेछ।










