दुबई: इरानमा गत महिना देशव्यापी रूपमा भएका प्रदर्शनहरू दमन गर्ने क्रममा मृत्यु हुनेहरूको संख्या कम्तीमा ७,००२ पुगेको दाबी गरिएको छ। अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी’ले प्रदर्शनकारीहरूमाथि गरिएको कारबाहीमा कम्तीमा ७,००२ जनाले ज्यान गुमाएको जनाएको छ।
यसअघि २१ जनवरीमा इरान सरकारले आधिकारिक रूपमा मृतक संख्या ३,११७ रहेको जानकारी दिएको थियो। विगतमा पनि अशान्तिको समयमा सरकारले वास्तविक मृतक संख्या कम देखाएको वा सार्वजनिक नगरेको आरोप लाग्दै आएको छ। इन्टरनेट र अन्तर्राष्ट्रिय टेलिफोन सेवा अवरुद्ध भएका कारण ‘एसोसिएटेड प्रेस’ले मृतक संख्याको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
मानवअधिकार समूहको यो दाबी त्यतिबेला सार्वजनिक भएको हो, जब इरान आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकासँग वार्तामा संलग्न छ। तथापि, कुनै सम्भावित परमाणु सम्झौता हुने वा नहुने भन्ने विषय अझै स्पष्ट छैन।








