काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनको तयारी र जिल्लागत वस्तुस्थितिबारे जानकारी लिन सोलुखुम्बु र भोजपुरको भ्रमण गरेकी छन्।
प्रधानमन्त्रीले सोलुखुम्बुको नाम्चे र सल्लेरीमा स्थानीय बासिन्दा तथा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिन्। सल्लेरीमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डे, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
जिल्ला समन्वय समितिको कार्यालयमा भएको छलफलमा निर्वाचन तयारीको प्रगति, सुरक्षा अवस्था तथा सम्भावित चुनौतीबारे जानकारी गराइएको थियो।
प्रमुख जिल्ला अधिकारी केसीका अनुसार हाल जिल्लामा शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको छ र निर्वाचन प्रभावित हुने कुनै उल्लेखनीय समस्या देखिएको छैन। विगतका वर्षहरूको मौसमी विवरणका आधारमा फागुन महिनामा हिमपातको सम्भावना न्यून रहेको जानकारी पनि दिइएको थियो। यद्यपि उच्च हिमाली भेगमा आकस्मिक हिमपात भए वैकल्पिक व्यवस्था अपनाइने जनाइएको छ।
प्रधानमन्त्री कार्कीले हालसम्मको तयारीप्रति सन्तोष व्यक्त गर्दै निर्वाचन शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिन्।









