नयाँ दिल्ली: पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले संसदमा अमेरिकाले इस्लामाबादसँग “ट्वाइलेट पेपरभन्दा पनि खराब व्यवहार गरेको, काम सकिएपछि प्रयोग गरेर फालिदिएको” बताएका छन्। उनले अफगान युद्धहरूमा पाकिस्तानको संलग्नतालाई “ठूलो गल्ती” भन्दै आज देशले भोगिरहेको आतंकवाद ती निर्णयहरूको परिणाम भएको उल्लेख गरे।
पाकिस्तानलाई लामो समयदेखि अमेरिकाको नजिकको सहयोगी मानिँदै आएको छ। विशेषगरी सैन्य नेतृत्व तहमा वाशिङ्टनमाथि निर्भरता देखिँदै आएको विश्लेषण गरिन्छ। तर विभिन्न पाकिस्तानी नेता तथा विश्लेषकहरूले अमेरिकाले आफ्ना सामरिक हितका लागि मात्र पाकिस्तानलाई प्रयोग गरेको आरोप लगाउँदै आएका छन्।
संसदमा बोल्दै आसिफले सन् १९९९ पछि, विशेषतः ११ सेप्टेम्बर २००१ को आक्रमणपछि अमेरिकासँग सम्बन्ध पुनर्स्थापित गर्न पाकिस्तानले ठूलो मूल्य चुकाएको बताए। उनले पूर्व सैन्य शासक जिया–उल–हक र परवेज मुशर्रफलाई विदेशी द्वन्द्वमा देशलाई होमेको आरोप लगाए।
‘आतंकवाद तानाशाहहरूको गल्तीको परिणाम’
रक्षा मन्त्रीले अफगान युद्धमा पाकिस्तानको भूमिका धार्मिक प्रतिबद्धतामा आधारित थियो भन्ने दाबी अस्वीकार गरे। उनले भने, “दुई पूर्व सैनिक तानाशाह अफगानिस्तान युद्धमा इस्लामका लागि होइन, एक महाशक्तिलाई खुसी पार्न सहभागी भएका थिए।”
उनका अनुसार, “आतंकवाद विगतका तानाशाहहरूको गलत निर्णयको परिणाम हो।” उनले त्यस समयमा शिक्षा प्रणालीलाई समेत युद्ध समर्थनअनुकूल ढालिएको र त्यसको प्रभाव आजसम्म देखिएको बताए।
उल्लेखनीय छ कि अफगान युद्धमा संलग्नताका क्रममा पाकिस्तानले हजारौँ नागरिक तथा सुरक्षाकर्मी गुमाएको थियो। हाल पनि देशका उत्तरी क्षेत्रमा पाकिस्तान तालिबानका गतिविधिले सुरक्षा चुनौती कायमै रहेको छ।










