बिर्तामोड: सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हरि कार्कीको ह्याट्रिकको मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
खेलको छैटौँ मिनेटमै एपिएफले प्रदिप लामाको करिब ३० यार्डको लङ रेञ्ज सटबाट पहिलो गोल गर्यो। १८औँ मिनेटमा कप्तान हरि कार्कीले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। २२औँ मिनेटमा कार्कीले तेस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे। खेलको ८३औँ मिनेटमा रिबाउन्सको बल सदुपयोग गर्दै कार्कीले ह्याट्रिक पूरा गरे।
भुटानको एक मात्र सान्त्वना गोल ७९औँ मिनेटमा पेनाल्टीबाट सम्भव भयो। एपिएफका दिपेश धिमालले भुटानी खेलाडीलाई डिबक्समा फल गरेपछि किन्जाङ तेन्जिङ शेर्पाले पेनाल्टीमार्फत गोल गरे।
खेलको प्लेयर अफ द म्याच एपिएफका ह्याट्रिककर्ता हरि कार्की घोषित भए, जसले नगद २५ हजार नेपाली रुपैयाँ पुरस्कार पाए।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल मछिन्द्र एफसी र एन पेनाङ मलेसियाबीच बिहीबार खेलिनेछ। विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार नेपाली रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउने छन् भने उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार नेपाली रुपैयाँ पुरस्कार पाउने छन्।










