मुम्बई: १९९० मा ‘आशिकी’ फिल्मबाट राहुल रोयले जबरदस्त लोकप्रियता हासिल गरेका थिए। त्यसपछि क्रमशः उनी बलिउडबाट टाढिँदै गए। सन् २०२० उनको लागि स्वास्थ्यसम्बन्धी धेरै समस्याले भरिएको वर्ष रह्यो। त्यही वर्ष राहुल रोय ‘एलएसी’ फिल्मको छायांकन गर्दै थिए। छायांकनकै क्रममा उनलाई ब्रेन स्ट्रोक भयो, त्यसपछि तुरुन्तै अस्पताल लगियो।
राहुलको मस्तिष्क र हृदयको एन्जियोग्राफी गरिएको थियो। मुम्बईको नानावटी अस्पतालमा उनको उपचार भयो। अस्पतालको बिल निकै ठूलो रकमको थियो। त्यही कठिन समयमा सलमान खान उनीसँग उभिए। भनिन्छ, भाइजानले नै राहुलको उपचारको सम्पूर्ण खर्च बेहोरिदिएका थिए।
सलमानप्रति कृतज्ञता व्यक्त गर्दै राहुल रोयले भने, “सबैले भन्छन् सलमानमा यो दोष छ, त्यो दोष छ। तर मेरो लागि उहाँ निकै राम्रो मानिस हुनुहुन्छ।” सहयोग गरे पनि सलमानले यसबारे कहिल्यै सञ्चारमाध्यमलाई केही भनेनन्। बलिउड स्टारको यही स्वभाव आफूलाई सबैभन्दा मनपर्ने भएको ‘आशिकी’ अभिनेता राहुल रोयले बताएका छन्।









