नोटिस दिनुअघि एकपटक बिरलासँग कुरा गर्नुपर्थ्यो: अभिषेक बनर्जी

zxsdfewsaz

नयाँ दिल्ली: तृणमूल कांग्रेसका महासचिव अभिषेक बनर्जीले मंगलबार लोकसभा अध्यक्ष ओम बिरलाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा आफ्नो पार्टीलाई कुनै आपत्ति नभएको बताए। तर यस्तो कदम चाल्नुअघि विपक्षी दलहरूले आफ्ना गुनासा लोकसभा अध्यक्षसमक्ष राख्नुपर्थ्यो भन्ने उनको भनाइ छ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पश्चिम बंगालको डायमण्ड हार्बरबाट निर्वाचित लोकसभा सांसद बनर्जीले विपक्षले प्रस्ताव ल्याउनुअघि अध्यक्षलाई एकपटक स्पष्टीकरण दिने अवसर दिनुपर्ने बताए। उल्लेखनीय छ, विपक्षी दलहरूले मंगलबार लोकसभा अध्यक्ष ओम बिरलालाई पदबाट हटाउन प्रस्ताव दर्तासम्बन्धी नोटिस लोकसभा महासचिवलाई बुझाएका छन्। विपक्षले अध्यक्षले सदन पक्षपातपूर्ण ढंगले सञ्चालन गरेको, कांग्रेस सांसदहरूमाथि झुटा आरोप लगाइएको तथा पदको दुरुपयोग गरिएको आरोप लगाएको छ।
लोकसभामा कांग्रेसका उप नेता गौरव गोगोई, मुख्य सचेतक कोडिकुनिल सुरेश तथा सचेतक मोहम्मद जावेदले लोकसभा महासचिव उत्पल कुमार सिंहलाई उक्त नोटिस बुझाएका हुन्। उक्त नोटिसमा कांग्रेस, समाजवादी पार्टी, द्रमुकसहित विभिन्न विपक्षी दलका १०० भन्दा बढी सांसदको हस्ताक्षर रहेको छ। यद्यपि तृणमूल कांग्रेसका सांसदहरूले भने नोटिसमा हस्ताक्षर गरेका छैनन्।
बनर्जीले भने, “लोकसभा अध्यक्षविरुद्ध अविश्वास प्रस्तावको नोटिसमा हस्ताक्षर गर्न तृणमूल कांग्रेसलाई कुनै समस्या छैन। हाम्रा सबै २८ सांसदले हस्ताक्षर गर्नेछन्। तर त्यसअघि ‘इन्डिया’ गठबन्धनका दलहरूले लोकसभा अध्यक्षलाई पत्र लेखी आपत्ति रहेका चार विषय उल्लेख गर्नुपर्छ।”
उनले उदाहरण दिँदै भने, “आठ जना विपक्षी सांसद निलम्बनमा परेका छन्। यो निलम्बन पुनर्विचार वा रद्द गर्न अनुरोध गर्न सकिन्छ। अध्यक्षलाई दुई–तीन दिनको समय दिनुपर्छ।” अध्यक्षबाट सन्तोषजनक जवाफ नआए तीन दिनपछि अविश्वास प्रस्ताव ल्याउन सकिने उनले बताए। तृणमूल कांग्रेस लोकसभाको कार्यवाही सहज रूपमा सञ्चालन होस् भन्ने चाहन्छ भन्ने पनि उनले प्रस्ट पारे।
कार्यवाही स्थगित भएको सन्दर्भमा उनले भने, “हामी सदन ठीकसँग चलोस् भन्ने चाहन्छौँ, तर केन्द्र सरकारले त्यस्तो चाहेको जस्तो देखिँदैन। आज सदन दुईपटक स्थगित भयो र अध्यक्ष सदनमा उपस्थित भएनन्।”

About Author

Advertisement